Wednesday, July 29

समाजवादी ट्रेड युनियन महासंघद्वारा श्रमिकहरुको न्यूनतम पारिश्रमिक वृद्धिको माग

नेपालअखबार, काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल निकट समाजवादी ट्रेड युनियन महासंघले श्रमिकहरुको न्यूनतम पारिश्रमिक वृद्धिको माग गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीलाई ज्ञापन पत्र बुझाएको छ । महासंघका अध्यक्ष अर्जुन लम्साल नेतृत्वको टोलीले केही दिनअघि मन्त्री भण्डारीलाई ज्ञापनपत्र बुझाएको हो ।

Advertisement

मन्त्री भण्डारीलाई बुझाइएको ज्ञापनपत्रमा पारिश्रमिक निर्धारण समितिको स्थायित्वसहित न्युनतम पारिश्रमिक मासिक २६ हजार ३४८ रुपियाँ कायम गर्न र पूर्ण कार्यान्वयनको व्यवस्था गर्न माग गरिएको छ ।

Advertisement
Advertisement

श्रम ऐन–नियमावली, ट्रेड युनियन ऐन–नियमावली लगायत श्रमसम्बन्धी ऐन तथा नियमहरु समयसापेक्ष संशोधन गरी कार्यान्वयन गर्नुपर्ने माग गर्दै महासंघले श्रम प्रशासन सुधार गरी श्रम निरीक्षण प्रणाली, श्रम अडिट, कार्यस्थलमा व्यवसायजन्य स्वास्थ्य र सुरक्षा समिति निर्धारण लगायतका कामहरु प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्ने माग गरेको छ ।

Advertisement

राज्यका सम्पूर्ण संरचनाहरुमा कम्तीमा १० प्रतिशत श्रमिक वर्गको प्रतिनिधित्व सुनिश्चितता गर्न, अर्धन्यायिक अधिकारसहितको राष्ट्रिय श्रम आयोग यथाशिघ्र गठन गर्न समेत महासंघले माग गरेको छ । साथै, स्वदेश तथा वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुलाई कार्यस्थलबाटै मतदान गर्न पाउने व्यवस्था गर्न पनि महासंघले माग गरेको छ ।