Sunday, May 10

कोशी प्रदेशका मुख्यमन्त्री थापाले आज शपथ लिने

नेपालअखबार,। कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आज पद तथा गोपनीयताको शपथ लिँदैछन्।

उनलाई प्रदेश प्रमुख परशुराम खापुङले शपथ ग्रहण गराउनेछन्।

Advertisement

आज बिहान साढे १० बजे सपथ ग्रहण कार्यक्रम राखिनेगरी तयारी भएको कोशी प्रदेश प्रमुखको कार्यालयका सूचना अधिकारी रामकुमार श्रेष्ठले जानकारी दिए।

मुख्यमन्त्रीले आजै सानो आकारको मन्त्रपरिषद् गठन गरी नवनियुक्त मन्त्रीहरूलाई पनि शपथ गराउने तयारी छ।

तर, बिहान ८ बजेसम्म पनि कतिजना र क- कसले शपथ लिने हो भन्ने विवरण मुख्यमन्त्री कार्यालयबाट प्राप्त नभइसकेको श्रेष्ठले बताए।

यसअघि मुख्यमन्त्रीमा नियुक्त भएपछि संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै थापाले आफ्नो यसअघिकै क्याविनेटका मन्त्री दाेहाेरिने संकेत गरेका थिए।

यसअघि कांग्रेसबाट प्रदिपकुमार सुनुवार, राककुमार खत्री, माओवादीबाट जीवन आचार्य, राजेन्द्र कार्की, नेकपा एसबाट कमल जवेगु  मन्त्री बनेका थिए। उनीहरूमध्ये आचार्यले आर्थिक मामिला तथा याेजना मन्त्रीकाे जिम्मा पाए पनि अरू मन्त्रीहरू जिम्मेवारीविहीन थिए।

प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको १६८ को उपधारा २ अनुसार काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको समर्थन पाएका थापालाई मंगलबार मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

त्यसअघि थापालाई मुख्यमन्त्री बनाउन सभामुख बाबुराम गौतमले पनि हस्ताक्षर गरेपछि एमाले सर्वोच्च अदालत पुगेको थियो।

सर्वोच्चले थापाको मुख्यमन्त्री नियुक्ती बदर गरिदिएको थियो। त्यसपछि गौतमलाई सभामुखबाट राजीनामा गराएर गठबन्धनले बहुमत पुर्‍याएपछि थापा पुन मुख्यमन्त्री नियुक्त भएका हुन्।