Monday, April 20

गोरखाको धार्चे गाउँपालिकाले बनायो सार्वजानिक स्थलमा चार्जिङ स्टेशन

गोरखा । धार्चे गाउँपालिकाले सार्वजानिक स्थलमा चार्जिङ स्टेशन स्थापना गरेको छ ।

हालसम्म केन्द्रिय विद्युत प्रशारण लाइन नपुगेको धार्चेमा पहिलो पटक दुई स्थानमा सार्वजानिक चार्जिङ स्टेशन निर्माण गरिएको हो ।

Advertisement

पहिलो चरणमा गाउँपालिकाको केन्द्र माछीखोला र लाप्राकको गुप्सीपाखामा स्टेशन बनाइएको अध्यक्ष सन्तोष गुरुङले बताए ।

‘यो पहिलो प्रयोग हो, अहिले २ ठाउँ लाप्राक र माछीखोलामा राखेमा छौ’ उनले भने ‘अहिलेसम्म लाइन नपुेको ठाउँमा यो इफेक्टिभ हुन्छ भन्ने हाम्रो बिश्वास हो, यो प्रभावकारी भयो भने अरु ठाउँमा पनि विस्तार गर्छौ ।’

सोलार मार्फत सञ्चालन हुने स्टेशनमा एक पटकमा १२ वटा मोबाइल, क्यामेरा लगायतका विद्युतिय सामाग्री चार्ज गर्न सकिने गाउँपालिका अध्यक्ष गुरुङले बताए । हालसम्म सोलार, टुकी, मैनबत्ती लगायतको भरमा चलेको धार्चेमा सार्वजानिक चार्जिङ स्टेशनले स्थानीयलाई राहत मिल्ने उनको विश्वास छ ।

‘अहिलेसम्म यहाँ सबैका घरमा सोलार र टुकीको भर हो’ अध्यक्ष गुरुङले भने ‘अब सबैले निशुल्क रुपमा सार्वजानिक ठाउँबाटै मोबाइल चार्ज गर्न सक्छन् ।’

गाउँपालिकालाई आएको केन्द्र्रको ससर्त अनुदान बजेट मार्फत यो कार्यक्रम सुरु गरिएको गाउँपालिकाले जनाएको छ । रम्बा टेक्निकल एण्ड इन्फरमेशन टेक्नोलोजीको प्राविधिक सहयोगमा स्टेशन निर्माण गरिएको बताइएको छ ।

पछिल्लो समय सञ्चारको तिव्र विकाससंगै माथील्लो क्षेत्रमा समेत एनटिसी र एनसेलको टावर विस्तार भइरहेको छ । तर विद्युत नहुदा चार्ज गर्न स्थानीयलाई समस्या हुदै आएको थियो । चार्जिङ स्टेशनसंगै गाउँपालिकाले डिजिटल टिभी तथा सूचना बोर्डको समेत सञ्चालनमा ल्याएको गाउँपालिका अध्यक्ष गुरुङले बताए ।

‘हामीले दुवै ठाउँमा डिजिटल टिभी सहितको इन्फरमेटिभ बोर्ड पनि राखेका छौ’ उनले भने ‘यसले धार्चेको समग्र भुगोल र सबै बिषयको सुचना दिने भएकाले यहाँ आउने पर्यटकलाई पनि सहज हुन्छ भन्ने हाम्रो विश्वास हो ।’

त्यस्तै धार्चेका बिभिन्न स्थानमा सोलार सडक बत्ती समेत राखिएको छ । गाउँपालिकाको केन्द्र माछीखोलामा २ वटा, खोर्लाबेशीमा २ र तातोपानीमा एक गरी पहिलो चरणमा ५ वटा पोलमा अटोमेटिक सडक बत्ती राखिएको अध्यक्ष गुरुङले जानकारी दिए ।

चार्जिङ स्टेशन सहित डिजिटल टिभी र सडक बत्ती निर्माणमा कुल १५ लाख ६५ हवार खर्च भएको गाउाँलिकाले जनाएको छ । धार्चेमा हाल केन्द्रिय प्रशारणको लाइन विस्तारको समेत काम भइरहेको छ । हालसम्म त्याहाका बिभिन्न वडामा पोल विस्तार भइसकेको र अन्य प्रकृया समेत अघि बढिरहेको नेपाल विद्युत प्राधिकरण गोरखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *