Thursday, July 16

सुदूरपश्चिममा एक हजार छ सयमा डेंगी संक्रमण, तीनको मृत्यु

नेपालअखबार, बैतडी। सुदूरपश्चिम प्रदेशमा डेंगीबाट एक हजार छ सय बढीमा संक्रमण भएको छ।

Advertisement

सन् २०२२ र २०२३ मा गरेर एक हजार छ सय १४ जनामा संक्रमण पुष्टि भइसकेको स्वास्थ्य निर्देशनालय सुदूरपश्चिम प्रदेशले जनाएको छ।

Advertisement
Advertisement

यस प्रदेशमा सन् २०२३ को सुरूआतदेखि हालसम्म तीन सय २५ जनामा संक्रमण देखिएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका कीटजन्य रोग नियन्त्रण सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए।

Advertisement

उनका अनुसार सबभन्दा बढी पहाडी जिल्ला दार्चुलामा एक सय ९१ जनामा संक्रमण पुष्टि भइसकेको छ।

यस्तै, कञ्चनपुरमा ५७, अछाममा ३१, कैलालीमा २४, बझाङमा छ, बैतडीमा पाँच, डोटीमा पाँच, बाजुरामा चार र डडेल्धुरामा दुई जनामा संक्रमण देखिएको हो। संक्रमणका कारण यस वर्ष मृत्यु भने शून्य छ।

यसअघि गत वर्ष यस प्रदेशमा एक हजार दुई सय ८९ जनामा संक्रमण देखिएकामा तीन जनाको मृत्यु भएको थियो। लामखुट्टेको टोकाइबाट हुने डेंगी गर्मी र वर्षातको समयमा हुने भएकाले बिरामीको संख्या बढ्दै गएको जोशीले बताए।

उनले भने, ‘गर्मी र वर्षातमा संक्रमण बढी देखिने गरेको छ, असोजसम्म बढी जोखिम हुन्छ।’

जोखिम कम गर्न निर्देशनालयले प्राविधिक सहजीकरण, कीट आपूर्ति र बिरामी व्यवस्थापनमा सहयोग गर्ने गरेको छ। स्थानीय तहहरूले उक्त रोग नियन्त्रणका लागि ‘लार्भा खोज र नष्ट गर’ अभियान  सञ्चालन गरिरहेका जोशीले बताए।

तराईका जिल्लामा बढी हुने डेंगी संक्रमण पछिल्लो समय पहाडमा पनि फैलिँदै गएको छ।

निर्देशनालयको तथ्यांकले पहाडी जिल्लामा पनि डेंगीको जोखिम बढेको देखिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए।

तराईबाट लामखुट्टे पहाड उक्लिएकाले पहाडमा पनि जोखिम बढेको छ।

उनले भने, ‘लामखुट्टे पहाडमा पनि देखिन थालेपछि पहाडी जिल्लामा पनि संक्रमण बढ्दै गएको छ, पहाडी जिल्लामा पनि संक्रमितलाई अस्पताल भर्ना गरेर उपचार गर्नुपर्ने अवस्था छ।’

वर्षातमा दैनिक रूपमा डेंगीका बिरामी बढ्दै गएपछि प्रदेशभरि डेंगी संक्रमण फैलाउने लामखुट्टे नष्ट गर्ने र सरसफाइ अभियानका साथै सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको छ।

डेंगी भएमा उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड, शरीर, घुँडाका जोर्नी दुख्ने, पिडौलाको मासु दुख्ने आदि डेंगीका लक्षण देखापर्ने गर्दछन्।

यसका साथै गम्भीर प्रकृतिको डेंगी संक्रमण भएका बिरामीमा थकान महसुस हुने, गिजाबाट रगत बग्ने, पेट असाध्यै दुख्ने, बारम्बार बान्ता हुने, श्वास फेर्न गाह्रो हुने, पेट तथा खुट्टा सुनिनेजस्ता लक्षण देखापर्ने निर्देशनालयले जनाएको छ। रासस