Thursday, July 16

सरकारले भ्रष्टाचारका अरु प्रकरणहरुको पनि छानबिन गर्छ : मन्त्री मोदी

नेपालअखबार, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले सरकारले भ्रष्टाचारका अरु प्रकरणहरुमा पनि छानबिन गर्ने बताएका छन् । शुक्रबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्री मोदीले सरकारले भ्रष्टाचारका अन्य प्रकरणहरुमा पनि छानबिन गर्ने बताएका हुन् ।

Advertisement

उनले देशमा सुशासन कायम गर्न सरकार प्रतिवद्ध रहेको बताए । उनले नक्कली भूटानी शरणार्थी प्रकरण, ललिता निवास जग्गा प्रकरण र सुन तस्करी प्रकरणको निष्पक्ष तरिकाले छानबिन गरिरहेको बताए ।

Advertisement
Advertisement

उनले भने, ‘सुशासन कायम गर्न सरकार लागिरहेको छ । सरकार प्रतिवद्ध छौँ । हामीले भ्रष्टाचारका अरु पनि धेरै विषयवस्तुमा सरकारले छानबिन गर्छौं नै । यस कुरामा दुईमत छैन । सरकार लागिराखेको छ ।’

Advertisement

उनले सरकारले आफ्ना नजिककालाई बचाउने र अर्काका मान्छेलाई कारबाही गर्ने नीति नलिएको स्पष्ट पारे । सरकारले निर्दोष नपर्ने र दोषी नउम्किने गरी काम गरिरहेको स्पष्ट पारे ।

‘हामी कसैको पक्षमा छैनौँ । आफ्ना नजिकका मान्छेलाई बचाऔँ। या अर्काकालाई कारबाही गर्ने, हामी निष्पक्ष तरिकाले सरकारले सही ढंगले कोही दोषी पनि नउम्कियोस् । निर्दोष पनि नपरोस् । भन्ने सिद्धान्तले काम गरिराखेका छौँ ।’ उनले भने ।

मन्त्री मोदीले स्थानीय तहहरु निमित्तको भरमा चलाउने कुराको अन्त्य गर्न लागेको बताए । उनले मधेस प्रदेशमा अब कतैपनि निमित्तको भरमा स्थानीय तह नचलेको बताए ।

उनले भने, ‘सबैभन्दा बढी मधेश प्रदेशमा निमित्त थियो । समस्या थियो । हिजोदेखि जिरोमा झारिदियौँ । अब मधेसमा निमित्त छैन ।’

हाल देशभरमा करिव ९० स्थानमा निमित्तको भरमा चलिरहेको भन्दै त्यसको पनि क्रमशः अन्त्य गर्दै जाने बताए । उनले कर्मचारीहरुको सरुवा मेरिटको आधारमा गर्ने पनि बताए । ‘अब ८८/९० यस्तै निमित्त छ । हामी सरुवा प्रणाली पनि मेरिटको हिसावमा पठाउँछौं । अब बढुवा भएका साथीहरुलाई मेरिटका हिसाबमा जानुहुन्छ ।’ उनले भने ।

मन्त्री मोदीले आफू अनुकुलका कर्मचारीहरुलाई सरुवा गर्नका लागि राजनीतिक तहबाट र स्थानीय जनप्रतिनिधिहरुबाट पनि दबाब आउने गरेको भन्दै त्यसो नगर्न आग्रह गरे ।

‘आज सिंहदरबार अखडा बनाएका कयौँ कर्मचारी साथीहरु जो बस्नुभयो उहाँहरुलाई हटाइरहेका छौँ । हामी अन्याय गर्न चाहदैनौँ । पछि फेरि पनि तान्छौँ, ‘ उनले भने, ‘ तर माननीय ज्यूहरु पनि आफूलाई अनुकुल पर्ने, तलका जनप्रतिनिधि साथीहरु राजनीतिक रुपमा बढी मात्रामा कर्मचारी व्यवस्थापनमा टर्चर दिने काम गर्नु भएन।’

आफू अनुकुलका कर्मचारीलाई सरुवा गर्दा देशमा सुशासन कायम हुन नसक्ने उनको भनाइ छ ।

उनले भने, ‘ माननीय ज्यूहरु पनि आफूलाई अनुकुल पर्ने, तलका जनप्रतिनिधि साथीहरु राजनीतिक रुपमा बढी मात्रामा कर्मचारी व्यवस्थापनमा टर्चर, हामीले भनेकै मान्छे हुनुपर्दा सुशासन कायम गर्न सकिँदैन ।’