Friday, July 17

बकैया खोलाको बहाव बढ्यो, राजमार्ग आसपासका बस्ती जोखिममा

नेपालअखबार, बारा । अविरल वर्षाका कारण पूर्व–पश्चिम राजमार्गको निजगढस्थित बकैया खोलामा बाढी आएको छ । जसका कारण आसपासका बस्तीहरू जोखिममा परेका छन् ।

Advertisement
यस्तै धनसार, शक्ति, बगर खोला र भमरा खोलामा पनि पानीको बहाव ह्वातै बढेर कटान सुरु गरेसँगै स्थानीय प्रशासन र सुरक्षाकर्मीको टोलीले तत्कालको लागि तारजाली लगाउने काम सुरु गरेको छ ।

Advertisement
Advertisement

निजगढ नगरपालिकाका नगरप्रमुख सुरथ पुरीले तत्कालका लागि विपत्बाट बच्न स्थानीय प्रहरी, प्रशासनको सहयोगमा बकैया खोलाको ३ सयमिटर उत्तरतर्फ तारजाली लगाउने काम भइरहेको जानकारी दिए ।

Advertisement

‘सानोतिनो क्षति त सबै ठाउँमा भएको छ तर पूर्व–पश्चिम राजमार्गको बकैया खोलाको पूर्वतर्फ तत्कालका लागि  बस्ती जोगाउन तारजाली लगाउने काम सुरु गरेका छौँ’, नगरप्रमुख पुरीले भने, ‘यो सडक डिभिजनले अधिग्रहण गरेको क्षेत्र भएकोले सडक विभागलाई पनि हामीले तटबन्धको लागि पटक पटक पत्राचार गरेका छौँ । तर अहिलेसम्म कुनै सुनवाइ भएको छैन  ।’

बाराको १६ वटा पालिकामध्ये उत्तरमा चुरेभावरसँग जोडिएको निजगढ नगरपालिकाभित्र मात्रै साना–ठुला गरी एक दर्जन बढी खोलाहरु रहेका छन् । जस्मा वर्षाले सबैभन्दा छिटो नोक्सान पुर्‍याउने गर्दछ ।  प्रमुख पुरीले बाढी बस्तीमा पस्नबाट जोगाउन तत्कालै विपत् व्यवस्थापन समितिको बैठक बसेर ठोस् निर्णय गर्ने बताए ।

यता बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले लगातारको वर्षाले निजगढ नगरपालिका र आर्दशकोतवाल गाँउपालिकामा केही क्षति भए पनि अन्यत्र भने अवस्था सामान्य रहेको जानकारी दिए ।  प्रजिअ सापकोटाले बुधवार जिल्ला विपत् व्यवस्थापन समितिको बैठक बसेर  जोखिमको आधारमा थप निर्णय गर्ने बताए ।

सिमरा विमानस्थल जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालयका अनुसार पछिल्लो २४ घन्टामा यस क्षेत्रमा १२५ दशमलव ७ मिलिलिटर वर्षा भएको छ । फिल्ड कार्यालय सिमराको नजिकका स्टेसनहरू परवानीपुरमा एकसय मिलिलिटर, कलैयामा १३८ मिलिलिटर, वीरगञ्जमा ७० मिलिलिटर वर्षा भएको अधिकृत लक्ष्मण कँडेलले बताए ।