Sunday, May 10

जसपाले राखेन उमेर हद, एउटै पदमा लगातार दुई कार्यकाल उठ्न नपाइने

नेपालअखबार, काठमाडाैं। जनता समाजवादी पार्टीले पार्टीको कार्यकारी समितिमा ७० वर्षे उमेर हद लागु नगर्ने भएको छ।

पार्टीको गत असार १० देखि १२ गतेसम्म चलेको विधान अधिवेशनमा ७० वर्षे उमेर हद लागु गर्ने गरी विधानको मस्यौदा प्रस्तुत गरिएको थियो।

Advertisement

तर, अधिकांश प्रतिनिधिले उमेर हद लागु गर्नु नपर्ने बरु एउटै कार्यकालमा लगातार दुई कार्यकाल उठ्न नपाइने व्यवस्था राख्नु सुझाव दिएका थिए।

विधान प्रमाणीकरण गर्न पार्टी अध्यक्ष उपेन्द्र यादवको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरिएको थियो।

समितिमा वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ, कार्यकारिणी सदस्यहरू रकम चेम्जोङ, लालबाबु राउत, सुशीला श्रेष्ठ र नेता दीपेन्द्र झा थिए।

समितिले विधानलाई अन्तिम रूप दिँदा उमेर हदको प्रावधान नराखिएको हो।

विधानको धारा ८६ मा एउटै पदमा लगातार दुई कार्यकाल उम्मेदवार हुन नपाउने व्यवस्था राखिएको छ।

‘निर्वाचित जिल्ला समिति, प्रदेश÷राष्ट्रिय समिति र केन्द्रीय समितिको पदाधिकारीको हैसियतमा कार्यरत एउटै व्यक्ति, एउटै तह र एउटै पदमा लगातार दुई कार्यकाल वा १० वर्षभन्दा बढी कार्य पूरा गरी सकेको भए सोही पदका लागि पुनः उम्मेदवार हुन पाउने छैन,’ विधानको धारा ८६ मा भनिएको छ।

राष्ट्रिय महाधिवेशनले अध्यक्ष १, सहअध्यक्ष १, उपाध्यक्ष ३, महासचिव १, उपमहासचिव ३, सचिव ७ र कोषाध्यक्ष १ समेत गरी १७ सदस्यीय पदाधिकारी निर्वाचित गर्ने विधानमा व्यवस्था छ।

राष्ट्रिय महाधिवेशनले १५१ सदस्यीय केन्द्रीय समिति निर्वाचित गर्ने विधानमा उल्लेख छ।

पदाधिकारी तथा सदस्यहरूको निर्वाचन गर्दा ३ जना निर्वाचित हुने पदहरूमा १ जना महिलासहित सामाजिक समूहहरूको समावेशीता अनिवार्य गर्नुपर्ने छ।

सचिवमा समावेशी समूहअनुसार प्रतिनिधित्व गराइने विधानमा उल्लेख छ।

जसपामा संघीय परिषद् र केन्द्रीय समिति छुट्टाछुट्टै संरचना रहने पनि विधानमा उल्लेख छ।

सङ्घीय परिषद अध्यक्ष, केन्द्रीय समिति अध्यक्ष, वरिष्ठ नेता, सहअध्यक्ष, उपाध्यक्ष, महासचिव, उप–महासचिव, सचिव, कोषाध्यक्ष र केन्द्रीय समितिबाट निर्वाचित ११ जना सदस्य समेत रहने गरी केन्द्रीय कार्यकारिणी समिति गठन गरिने छ । केन्द्रीय निकायका अध्यक्षहरू यस समितिका पदेन सदस्य हुने व्यवस्था छ।

केन्द्रीय समितिको निर्वाचनमा कम्तीमा एक तिहाई महिलासहित नेपालको विविधता प्रतिविम्बित हुने गरी आदिवासी जनजाति, मधेसी, खस क्षेत्री र ब्राह्मण समूह, थारू, दलित, मुस्लिम, अपाङ्गता भएका र अल्पसङ्ख्यक समुदायका जातीय/सामाजिक समूहरू बाट ७० प्रतिशत र खुला प्रतिस्पर्धाबाट ३० प्रतिशत केन्द्रीय सदस्यहरू निर्वाचित गरिने विधानमा व्यवस्था छ।

पदाधिकारीको हकमा भने यो लागु हुने छैन।

यसरी निर्वाचित गर्दा कम्तीमा ४० प्रतिशत युवा हुनुपर्ने विधानमा राखिएको छ।

पार्टी समितिका निवर्तमान अध्यक्ष वरिष्ठ नेता हुने र महाधिवेशनले अन्यथा निर्धारण गरेकोमा बाहेक निजको मर्यादाक्रम केन्द्रीय समितिको अध्यक्ष पछि रहने छ विधानमा व्यवस्था छ।

अध्यक्षसहित बढीमा ९ सदस्यीय केन्द्रीय सचिवालय र महासचिवसहित ५ सदस्यीय केन्द्रीय कार्यालय समिति गठन गरिने छ पनि विधानमा राखिएको छ।

जसपाले पहिचानमा आधारित प्रादेशिक संरचना बनाउने भएको छ। पहिचानमा आधारित प्रादेशिक संरचनाको रूपमा पार्टीमा राष्ट्रिय समितिहरू हुने पनि बताइएको छ।

यस समितिले मूलतः राजनीतिक तथा पहिचानको आन्दोलनसँग सम्बन्धित काम गर्ने गरी कार्यक्षेत्र तोकिएको छ।

पहिचानमा आधारित ११ वटा प्रादेशिक संरचनाहरू रहने विधानमा उल्लेख छ। जसमा लिम्बुवान, किरात, मधेस, शेर्पालुङ, नेवाः, ताम्सालिङ, तमुवान, मगरात, थरूहट, खसान र शिल्पी÷दलित विशेष समिति हुने छन्।

रातो रङ्गको पृष्ठभूमिमा बिचमा सेतो रङ्गको पाँचकुने तारा रहने गरी जसपाले झण्डाको रङ पनि परिवर्तन गरेको छ। यसअघि जसपाले पृष्ठभूमिमा हरियो रङ प्रयोग गर्दै आएको थियो।

यस्तै रातो रङ्गको गोलाकारभित्र रातो रङ्गको पाँचकुने ताराको बिचमा सेतो रङ्गको हातको मुट्ठी रहने गरी पार्टीको लोगो पनि परिवर्तन गरेको छ।

विधानको पूर्णपाठः