Friday, May 15

माओवादी केन्द्रको आईसीटी फोरम गठन

नेपालअखबार, काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीको पछिल्लो केन्द्रीय समिति बैठकको निर्णयअनुसार आईसीटी फोरम गठन गरेको छ ।

प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतबार पार्टी कार्यालय पेरिस डाँडामा रिमोटमार्फत आईसीटी फोरमको उद्घाटन गरेका हुन् ।

Advertisement

अध्यक्ष प्रचण्डले पछिल्लो समय त्याग र सर्मपणभन्दा पनि हल्लाको भरमा संगठन बनाउने संस्कृति देखिएको भन्दै त्यसलाई चिर्ने गरी सकारात्मक काममार्फत पार्टीलाई जनतामा स्थापित गर्न आईसीटी फोरम गठन गरिएको बताए ।

‘अहिलेको यूग सूचना प्रविधिको युगको रुपमा स्थापित भएको छ । यसको महत्व कति छ भन्ने कुरा हामी सबैले बुझ्न जरुरी छ । विज्ञान र प्रविधिको महत्व बुझेर त्यसलाई महत्व दिएका राजनीतिक दल सफल हुने नदिए असफल हुने देखिएको छ’, उनले भने, ‘त्यसैले पार्टीको पछिल्लो केन्द्रीय समिति बैठकको निर्णय अनुसार आईसीटी फोरमको गठन गर्ने निर्णय गरिएको छ । यसको संगठन ग्रास रुटसम्म यसको संगठन विस्तार हुन्छ ।’

उनले समाजवादको आधार तय गर्नको लागि जनतासम्म पुग्ने गरी यस फोरमले पार्टीका नीति विचार र कामलाई प्रचार गर्ने बताए । फोरमले पार्टीको प्रचार संयन्त्रको रुपमा काम गर्ने उनको भनाइ थियो ।

उनले पार्टीको तीन महिने अभियान कति सफल हुन्छ भन्ने कुरा सूचना प्रविधिको प्रयोग कति गर्छौं भन्नेमा भरपर्ने बताउँदै सोही अनुरुप काम गर्न नवगठित आइसीटी फोरमलाई निर्देशन दिए ।