Saturday, May 23

संसदीय समितिका सभापतिको आज निर्वाचन

नेपालअखबार, काठमाडौं । प्रतिनिधिसभाअन्तर्गत गठित १० वटा विषयगत समितिले आज पूर्णता पाउने भएका छन्। संघीय संसद् सचिवालयका अनुसार ९ वटा विषयगत समितिमा एकल उम्मेदवारी र एउटा समितिमा दुई जनाको उम्मेदवारी दर्ता भएको छ।

एकल उम्मेदवारी प्रस्ताव आएका समितिमा स्वतः सभापति घोषणा हुने र दुई जनाको उम्मेदवारी रहेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिका लागि निर्वाचन गरिने संघीय संसद् सचिवालयले जनाएको छ।

Advertisement

दलहरूबीच भएको सहमतिअनुसार कांग्रेसले तीन, एमालेले दुई, माओवादी, राप्रपा, नेकपा एस, जसपा र जनमत पार्टीबाट एकएक समिति सभापतिमा उम्मेदवारी परेको छ ।

कांग्रेसका सांसद आरजु राणा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र रामहरि खतिवडाले सुशासन समितिको र सन्तोष चालिसेले अर्थ समितिको सभापतिमा उम्मेदवारी दर्ता गरका छन्।

यस्तै एमालेका सांसद ऋषिकेश पोखरेलले सार्वजनिक लेखा समितिको सभापति र किरणकुमार साहले महिला तथा सामाजिक मामिला समितिमा उम्मेदवारी दिएका छन्।

सत्तारूढ दल माओवादी केन्द्रका सांसद विमला सुवेदीले कानुन न्याय तथा मानवअधिकार रजसपाका सांसद राजकिशोर यादवले अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा उम्मेदवारी दर्ता गरेका छन्।

यसैगरी एकीकृत समाजवादीका भानुभक्त जोशीले शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि, राप्रपाका दिपक सिंहले पूर्वाधार विकास र जनमत पार्टीका अब्दुल खानले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा आफ्नो उम्मेदवारी दर्ता गरेका छन्।

संसदीय समितिमा भाग नपाएपछि संसदको चौथो ठूलो दल रास्वपाबाट गणेश पराजुलीलाई उद्योग समितिमा उम्मेदवार दिएका छन् ।