Sunday, April 19

१४ वटै वडाका श्रमिक महिलालाई गोरखा नगरपालिकाले ग¥यो सम्मान

गोरखा । गोरखा नगरपालिकाले नगरक्षेत्रका श्रमिक महिलालाई सम्मान गरेको छ । १ सय १० औ महिला श्रमिक दिवशका अवसरमा नगरपालिकाले १४ वटै वडाका एक/एक जना श्रमिक महिलालाई सम्मान गरेको हो ।

श्रम गर्नेहरुलाई प्रोत्साहन तथा उनीलाई सम्मान गर्नुपर्ने संस्कारको विकासका लागि श्रमिक महिलाहरुलाई सम्मान गरिएको नगरपालिकाले जनाएको छ ।

Advertisement

सम्मानित हुनेमा गोरखा नगरपालिका १ बाट हलिमा खातुन, २ बाट जुना परियार, ३ बाट राधिका कोईराला, ४ बाट राधा रम्तेल, ५ बाट जुना मग्राती, ६ बाट पदमकुमारी श्रेष्ठ, ७ बाट चिनिमाया सर्किनी रहेका छन् ।

त्यस्तै वडा नम्बर ८ बाट मनमाया परियार, ९ बाट पूर्ण कुमारी राना, १० बाट पुतलसी सुर्खेती, १२ बाट ज्योती राई, १३ बाट देउती पन्थ र १४ बाट कान्छीमाया नेपाली सम्मानीत भएका हुन् । उनिहरुलाई नगरप्रमुख राजनराज पन्त र उपप्रमुख विनाकुमारी श्रेष्ठले दोसल्ला सहित नगद एक हजार ५० रुपैयाँ सम्मान स्वरुप प्रदान गरिएको सामाजिक शाखा प्रमुख बिजय भक्त उपाध्यायले जानकारी दिए ।

वडा नम्बर ११ बाट नाम सिफारिस हुन बाँकी रहेकाले सिफारिस भएर आएपछि सम्मान गरिने बताइएको छ ।

उपप्रमुख विनाकुमारी श्रेष्ठको अध्यक्षमा भएको कार्यक्रममा नगरप्रमुख राजनराज पन्तको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बोल्दै नगरप्रमुख पन्तले राज्यले महिलालाई हरेक क्षेत्रमा अधिकारसम्पन्न बनाएपनि नीति कार्यान्वयनमा भने सरकार चुकेको बताए । अवसरबाट महिलालाई बञ्चित बनाउन नहुने उनको तर्क छ ।

‘राज्यले महिलालाई अधिकार दिनबाट चुकेको छैन’ उनले भने ‘चुकेको यसमा छौ जहाँ बनेका नीति नियम र कानून कार्यान्वयन हुन सकेको छैनन ।’

लामो आन्दोलनपछि महिलाले अधिकार प्राप्त गरेको उल्लेख गर्दै नगरपप्रमुख पन्तले सो उपलब्धीलाई रक्षा गर्नु चुनौती बनेको बताए । अधिकार लिने बिषयमा महिला नै सचेत हुनुपर्ने उनको तर्क छ । कार्यक्रममा बोल्दै उपप्रमुख विनाकुमारी श्रेष्ठले सोच परिर्वतन नभई समाज फेरिन नसक्ने बताइन ।

‘हामीले अधिकार त पायौ, हाम्रा पक्षमा कानून पनि बने तर ब्यवहार अझै उहि छ’ उनले भनिन् ‘हाम्रो परिवार, समाजमा जवसम्म महिलालाई हेर्ने नजर फरिदैन तबसम्म जति अधिकारका कुरा गरेपनि केहि हुदैन ।’

श्री स्वारा सघन गाउँविकास केन्द्र, एकिकरण नेपाल र पद्धती विकास केन्द्रको सहकार्यमा कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख इश्वर रेग्मीले कोरोना भाइरस र यसको संक्रमणबाट बच्ने तरिकाका बारे सहभागीलाई जानकारी गराएका थिए ।

कार्यक्रममा स्वारा सघनका दोर्णचार्य तिमिल्सिना, एकिकरणका हरि देवकोटा, पद्धतीका सुनिल न्यौपाने, पत्रकार महासंघ गोरखाका सचिव नरहरी सापकोटा लगायतले मन्तब्य राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *