
नेपालअखबार, सुर्खेत। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले समाजवादी मोर्चाभित्र केन्द्रदेखि तल्लो तहसम्म सौहार्दपूर्ण वातावरण हुनुपर्ने बताएका छन्।
समाजवादी मोर्चाले बिहीबार कर्णाली प्रदेशको सुर्खेतमा आयोजना गरेको सभामा बोल्दै नेपालले मोर्चाको नेतृत्व तहदेखि कार्यकर्ता तहसम्म विश्वास र समझदारी हुनुपर्ने बताएका हुन्।
‘सबै तहमा राम्रो विश्वास र समझदारी भएन भने मोर्चा टिक्न सक्दैन,’ उनले भने।
समाजवादी मोर्चाको संयोजकसमेत रहेका नेपालले एकतासहितको शक्तिले परिवर्तन ल्याउने मान्यतासहित मोर्चा गठन गरिएको बताए।
अहिले मोर्चा बलियो भएर अगाडि बढे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार नढल्ने पनि बताए।
वर्तमान सरकार भ्रष्टाचारविरूद्ध खरो उत्रिएका कारण सरकारलाई जोगाउनुपर्ने पनि उनले बताए।
‘हामी समाजवादी मोर्चाभित्रका दल र काँग्रेस एक भयौं भने अहिलेको सरकार ढल्दैन । अहिलेको सरकारले खोलेका भ्रष्टाचारका फाईल टुंगोमा पुर्याउनुछ,’ उनले भने।
नेपालले सरकारको कदमबाट भ्रष्टाचार गर्ने दलहरु डराएको समेत बताए।
उनले मोर्चामा आवद्ध हुन अन्य दललाई पनि आग्रह गरे। मोर्चामा खर्चिलो निर्वाचन प्रणालीको विषयमा हामीले मोर्चाभित्र छलफल गर्नुपर्ने उनको धारणा थियो।
नेपालले समाजवादी मोर्चा विदेशी हस्तक्षेपको विरोधमा उत्रिने समेत बताए।
‘विदेशीको दासता हामीलाई स्वीकार्य छैन। विदेशीले हस्तक्षेप गर्न खोज्छन् भने हामी यो मोर्चा त्यसको विरोधमा उत्रिन्छ,’ उनले भने।
एमसिसीको विषयमा पनि आफूहरूको त्यही धारणा रहेको उनले बताए।
‘एमसिसी कुनै सैनिक विशेषसंग जोडिनु हुँदैन। हामीले यसलाई आर्थिक सहायतामा लिएका छौं,’ उनले भने, ‘आफैमा पुँजीमा कमजोर भएको नेपालले स्वार्थ र हस्तक्षेप नजोडिएका आर्थिक सहयोग स्वीकार गर्छ।’
उनले कसैका विरुद्ध मोर्चा नबनाएको पनि बताए।

