Friday, July 17

गण्डकी प्रदेशको संक्रामक तथा सरुवा रोग अस्पतालले पायो सर्पदंश उपचार गर्ने अनुमति

नेपालअखबार, पोखरा । गण्डकी प्रदेशको मातहतमा रहेको संक्रामक तथा सरुवा रोग अस्पतालले सर्पदंश उपचार गर्ने अनुमति पाएको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले मंगलबारदेखि अस्पताललाई सर्पदंशको उपचार गर्न अनुमति दिएको हो ।

Advertisement

‘पहिले पनि छिटफुट उपचार त गरिन्थ्यो । तर, संघीय सरकारले नै आधिकारिक रुपमा अनुमति दिइसकेपछि अब यहींबाट सर्पदंशको उपचार हुने भयो,’ अस्पताल प्रमुख डा‍. विकास गौचनले भने, ‘आगामी दिनमा सर्पदंशको उपचार थप सहज बनाउँदै लगिनेछ ।’

Advertisement
Advertisement

सर्पदंश उपचारका लागि हाललाई अस्पतालमै कार्यरत जनशक्ति प्रयोग गरिने डा. गौचनले जानकारी दिए । अस्पतालमा सर्पदंश उपचारसम्बन्धी नै तालिम लिएका एकजना विशेषज्ञ चिकित्सक नै भएकाले सहज हुने उनको दाबी छ । ‘अरुबेला इमर्जेन्सीमा खटिने जनशक्तिले नै हेर्नुहुनेछ,’ उनले भने ।

Advertisement

अस्पतालले सर्पदंशसम्बन्धी अनुमतिका लागि भदौ ४ गते संघीय स्वास्थ्य मन्त्रालयलाई पत्राचार गरेको थियो ।

‘अब अनुमति पाइसकेपछि संघीय सरकारसँग सर्पदंशसम्बन्धी अन्य आवश्यक जनशक्ति, पूर्वाधार माग गर्न पनि सहज भयो,’ डा. गौचनले भने ।

गण्डकी प्रदेशमा यसअघि मध्यविन्दु अस्पताल नवलपुर, प्राथमिक स्वास्थ्य केन्द्र त्रिवणी र गडण्डकी अस्पताल, पोखरामा सर्पदंशसम्बन्धी उपचार हुँदै आएको छ ।