Thursday, July 30

बाढी–पहिरोबाट ३ राजमार्ग अवरूद्ध, ५५ ठाउँमा एकतर्फी

नेपालअखबार,। बाढी–पहिरोबाट ३ वटा राष्ट्रिय राजमार्ग अवरूद्ध भएका छन्। विभिन्न राजमार्ग ५५ स्थानमा एकतर्फीरूपमा सञ्चालनमा रहेको सडक विभागले अद्यावधिक गरेको विवरणमा उल्लेख छ।

Advertisement

विभागले जानकारी दिएअनुसार तानसेन–रिडी–कोरला सडक पहिरोका कारण अवरूद्ध छ।

Advertisement
Advertisement

त्यस्तै तमोर करीडोरअन्तर्गत चतरा–मुलघाट–माझीटार–अमरापुरडाँडा–गणेशचोक जोड्ने सडक पाँचथरको माझिटारस्थित हेवाखोलामा अवरुद्ध रहेको छ। गत असार ४ गतेको भेलबाढीले सडक कटान गरेपछि सञ्चालनमा आउन सकेको छैन।

Advertisement

सडक विभागले पुष्पलाल मध्यपहाडी राजमार्ग खोटाङमा अवरूद्ध रहेको बताएको छ। हलेसी नगरपालिकाले उपकरण प्रयोग गरेर सडक सञ्चालनको प्रयास गरिरहेको पनि विभागले जानकारी दिएको छ।

डुम्रे–बेशीसहर–चामे, रानी–विराटनगर–इटहरी–धरान–धनकुटा–हिले, लेघुवाघाट–तुम्लिङ्गटार–खाँदवारी–नुम–किमाथाङ्का जोड्ने कोशी राजमार्गअन्तर्गतको सडक एकतर्फी रहेको विभागले बताएको छ।

डुम्रे–बेशीसहर–चाम सडक लम्जुङको खरखरे भीरमा एकतर्फी रहेको छ। त्यस्तै सिद्धार्थ राजमार्गअन्तर्गत बेलहिया–भैरहवा–बुटवल–वर्तुङ–राम्दी–स्याङ्जा–पोखरा जोड्ने सडक पाल्पाको हिउँदे खोला, तिनाउ हाइड्रोपावर ड्याम नजिकै एकतर्फी रहेको छ।

कर्णाली राजमार्गअन्तर्गत जमुनाहा–नेपालगंज–कोहलपुर–सुर्खेत–खुलालु–हिल्सा जोड्ने सडक दैलेखको दहीखोलामा एकतर्फी रहेको विभागले जानकारी दिएको छ।

त्यस्तै, दिक्तेल–सोलु–जुनबेंसी–खहरे–जिरी बजार–तामाकोशी–चरीकोट–खाडीचौर सडक दोलखाको खावामा एकतर्फी रहेको छ।

मनसुनजन्य गतिविधि सुरू भएयता २९ वटा राजमार्गको २ सय ७२ स्थानमा अवरूद्ध भएयता २ सय १४ ठाउँमा दुवैतर्फ सञ्चालनामा आइसकेको छ।

यस वर्षको बाढी–पहिरोले राजमार्गहरूमा ३९ करोड ६६ लाख ५० हजार रूपैयाँ बराबर क्षति पुर्‍याएको विभागले अद्यावधिक गरेको विवरणमा उल्लेख छ।