Monday, July 27

दुई सातादेखि सार्वजनिक रूपमा देखिएका छैनन् चीनका रक्षामन्त्री

नेपालअखबार, एजेन्सि। चीनमा फेरि एक जना अर्का मन्त्री सार्वजनिक रूपमा देखिन छोडेका छन्।

Advertisement

गत महिना तत्कालीन चिनियाँ विदेश मन्त्री छिन काङ रहस्यमय तरिकाले सार्वजनिक रूपमा देखिन छाडेका थिए। पछि राष्ट्रपति सी चिनफिङले उनलाई बर्खास्त गरेका थिए।

Advertisement
Advertisement

अहिले रक्षामन्त्री साङ्फू ली दुई सातादेखि सार्वजनिक रूपमा देखिएका छैनन्। अमेरिकी अधिकारीहरूले लीलाई घरमै नजरबन्दमा राखिएको हुन सक्ने आशंका गरेका छन्।

Advertisement

जापानका लागि अमेरिकी राजदूत र्‍याम इम्यानुअलले सामाजिक सञ्जाल एक्समा केही दिनदेखि सार्वजनिक रूप नदेखिएका रक्षामन्त्री लीले पूर्वनिर्धारित भियतनाम भ्रमण नगरेको र सिंगापुरका नौसैनिक प्रमुखसँग भेटमा अनुपस्थित भएको उल्लेख गरेका छन्। लीलाई घरमै नजरबन्दमा राखिएको हो भन्दै उनले प्रश्न गरेका छन्।

वासिङ्टन पोस्टले चिनियाँ अधिकारीहरूलाई उद्धृत गर्दै लीमाथि भ्रष्टाचार अभियोगमा अनुसन्धान भइरहेको र उनलाई केही समयै बर्खास्त गरिने उल्लेख गरेको छ।

चिनियाँ अधिकारीहरूले रक्षामन्त्री लीको अवस्थाबारे कुनै जानकारी दिएका छैनन्।

६५ वर्षका ली गत मार्चमा रक्षा मन्त्री नियुक्त भएका थिए।

गत अगस्ट २९ मा लीले बेइजिङमा भएको चाइना- अफ्रिका पिस एन्ड सेक्युरिटी फोरममा सम्बोधन गरेका थिए। त्यसपछि उनी सार्वजनिक रूपमा देखिएका छैनन्।

ली चीनका स्टेट काउन्सिलर पनि हुन्। चीनमा पाँच जना स्टेट काउन्सिलर हुन्छन्, उनीहरूको वरीयता अरू मन्त्रीभन्दा माथि हुन्छ।

यसअघि गत महिना तत्कालीन विदेश मन्त्री छिन काङ पनि सुरूमा लामो समय सार्वजनिक रूपमा देखिन छोडेका थिए। पछि बर्खास्त गरिएका उनी अहिले कहाँ छन् भन्ने खुलेको छैन।