Wednesday, July 29

आइसियू सेवा सञ्चालनमा नआउँदा ताप्लेजुङ जिल्ला अस्पतालमा उपकरण प्रयोगविहीन

नेपालअखबार, ताप्लेजुङ । ताप्लेजुङ जिल्ला अस्पतालमा व्यवस्थापन गरिएको सघन उपचार सेवा (आइसीयू)का लागि जडान गरिएको उपकरण प्रयोगविहीन बनेका छन्। प्राविधिक जनशक्तिको अभावमा हालसम्म आइसीयू सञ्चालनमा नआउँदा उपकरण प्रयोगविहीन बनेको हो।

Advertisement

आइसीयू सेवा सञ्चालनका लागि आवश्यक संरचना तयार भए पनि प्राविधिक जनशक्ति नहुँदा करिब तीन वर्षदेखि उपकरण प्रयोगविहीन बनेको हो। कोभिड महामारीका बेला करोडौँ खर्चिएर उपकरण व्यवस्थापन गरिएको थियो। फुङ्लिङ नगरपालिका–५ का विक्रम लिम्बूले जिल्लामै आइसीयूका लागि उपकरण उपलब्ध भएर पनि सञ्चालनमा नआउँदा सेवाग्राहीलाई समस्या परेको बताए।

Advertisement
Advertisement

२०७८ साल कात्तिकमा अस्पतालमा ७१ लाख ५० रुपैयाँ हजारको लागतमा अक्सिजन प्लान्ट जडान र पाँच करोड रुपैयाँमा सघन उपचारकक्ष शय्या (बेड) स्थापना भएको जिल्ला अस्पताल ताप्लेजुङले जनाएको छ। जिल्ला अस्पतालमा आइसीयू सञ्चालनमा रहेको भए महामारीमात्र नभई अन्य सिकिस्त तथा गम्भीर प्रकृतिका बिरामीका लागि ठूलो राहत पुग्ने उनले बताए आइसीयू उपकरण भएर पनि सञ्चालनमा नआएका कारण सुविधाबाट बञ्चित हुनु भनेको दुर्गम हिमाली जिल्लाका सेवाग्राहीका लागि दुःखद् अवस्था भएको उनको भनाइ छ।

Advertisement

प्राविधिक जनशक्ति अभावकै कारण आइसीयू सञ्चालनमा नआएको जिल्ला अस्पतालका सूचना अधिकारी विजया राईले बताए। उनका अनुसार बालबालिकाका लागि मात्र प्रयोग गर्न मिल्ने उपकरण भएको र उपलब्ध उपकरण प्राविधिक जनशक्ति अभावमा सञ्चालनमा आउन नसकेको हो। पछिल्लो समय जिल्ला अस्पतालमा आवश्यकता परे उपकरण सञ्चालन गर्न सक्ने दक्ष चिकित्सक उपलब्ध भए पनि उपकरण चलाउन अर्थात् आइसीयू सञ्चालनमा ल्याउनका लागि प्राविधिक जनशक्तिकै आवश्यक हुने उनले बताए ।

यस्तै आइसीयू सञ्चालनका लागि प्रदेश सरकारसँग कुरा राख्दा प्राविधिक जनशक्ति उपलब्ध गराउन नसक्ने जवाफ पाएको जिल्ला अस्पताल विकास समितिका अध्यक्ष एवं जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामाले बताए। प्रदेश सरकारले जनशक्ति उपलब्ध गराउन नसक्ने भएपछि समितिमा निर्णय गरेर सङ्घीय सरकारसँग माग गर्ने योजना बनाउँदै गरेको उनले जानकारी दिए।

आइसीयू सेवा अभावकै सेवाग्राही जिल्ला बाहिर जानुपर्ने बाध्यता एवं कतिपयले ज्यानसमेत गुमाउनुपरेको बताइएको छ।