Tuesday, July 28

सभामुख घिमिरेद्वारा आयरल्यान्डका राष्ट्रपतिसँग शिष्टाचार भेट

नेपालअखबार, डब्लिन । सभामुख देवराज घिमिरेले शुक्रबार आयरल्यान्डका राष्ट्रपति माइकल डी. हिगिन्ससँग शिष्टाचार भेट गरेका छन् ।

Advertisement

राजधानी डब्लिनस्थित राष्ट्रपति कार्यालयमा भएको भेटमा द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका बारेमा छलफल भएको सभामुखका प्रमुख स्वकीय सचिव तेजप्रकाश भट्टराईले जानकारी दिए ।

Advertisement
Advertisement

भेटमा सभामुख घिमिरेले कूटनीतिक सम्बन्ध विस्तार भएको २४ वर्षमा दुई मुलुकबीच उच्चस्तरीय सम्बन्ध एवं सम्पर्क गहन हुँदै गएको बताए । ‘सन् २०१९ सेप्टेम्बरमा आयरल्यान्डको प्रतिनिधि सभाका सभामुखले गरेको नेपाल भ्रमणले दुई संसदबीचको सम्बन्धलाई घनिष्ठ बनाएको छ,’ उनले भने ।

Advertisement

सभामुख घिमिरेले नेपाल र आयरल्यान्ड भौगोलिक रूपले टाढा भएता पनि कला, साहित्य, सङ्गीत तथा संस्कृतिका माध्यमले नजिक रहेको उल्लेख गरे ।  ‘हाम्रा दुई मुलुकबीच विश्व शान्ति, मित्रता एवं सद्भाव जस्ता समान मूल्य मान्यताहरू छन् । लोकतन्त्र, मानवअधिकार, विधिको शासन र स्वतन्त्रता हाम्रा साझा प्रतिबद्धताहरू हुन्,’ सभामुखको भनाइ थियो ।

सभामुख घिमिरेले सन् २०२६ मा नेपाल अति कम विकसित मुलुकबाट स्तरोन्नति हुन गइरहेको जानकारी दिँदै नेपालको आर्थिक विकासको लागि कृषि, पर्यटन, जलविद्युत, भौतिक पूर्वाधार तथा सूचना प्रविधि जस्ता क्षेत्रहरूमा लगानी गर्न राष्ट्रपतिमार्फत अन्तर्राष्ट्रिय समुदायलाई अपिल गरे । उनले लगानीकर्ताहरूलाई आकर्षित गर्न आवश्यक कानुनी एवं नीतिगत सुधारहरू समेत भइरहेको जानकारी दिए ।

सभामुख घिमिरेले जलवायु परिवर्तनको चुनौती सामना गर्न विश्व मञ्चमा नेपाल र आयरल्याण्डबीच सहकार्यमा जोड दिए । उनले आयरल्यान्डमा शिक्षा हासिल गर्न

नेपाली विद्यार्थीहरू आकर्षित भएको बताउँदै आवश्यक सहजिकरणका लागि आग्रह गरे ।

भेटमा आयरल्यान्डका राष्ट्रपति माइकल डी. हिगिन्सले नेपाल राजतन्त्रात्मक शासन अन्त्य गर्दै लोकतन्त्रको बाटोमा अघि बढेकोबारे आफू जानकार रहेको बताउँदै प्राकृतिक रूपमा दुवै मुलुक धनी रहेको उल्लेख गरे । उनले सर्वोच्च शिखर सगरमाथा र हरित पर्यटनका लागि नेपाल जान आइरिस नागरिक लालायित रहेको बताए ।

राष्ट्रपति हिगिन्सले नेपाल–आयरल्यान्ड मैत्री समूहमार्फत नेपालको कृषि, पर्यटन लगायतका क्षेत्रमा काम गर्न सकिने धारणा राखे ।

तीन सदस्यीय प्रतिनिधमण्डलको नेतृत्व गर्दै आयरल्यान्ड भ्रमणमा निस्किएका सभामुख घिमिरे आइतबार बिहान १०ः१५ बजे काठमाडौँ फर्कने कार्यक्रम छ । भ्रमण टोलीमा सभामुखसँगै प्रतिनिधि सभाका सचिव पद्मप्रसाद पाण्डेय र प्रमुख स्वकीय सचिव तेजप्रकाश भट्टराई सहभागी छन् ।

आयरल्यान्डमा रहँदा सभामुख घिमिरेले संसद्को माथिल्लो सदन सिनेटका अध्यक्ष र तल्लो सदन प्रतिनिधि सभाका सभामुखसँग भेट गरेका थिए । उनले सरकार मन्त्री र तथा उच्च अधिकारीसँग भेट गरी दुई पक्षीय सम्बन्ध विस्तारका विविध विषयमा छलफल गरेका छन् । आइरिस राष्ट्रपतिका कविता सङ्ग्रहको सम्झना

भेटमा सभामुख घिमिरेले आइरिस राष्ट्रपतिको कविता सङ्ग्रह स्मरण गरे । उनले भने, ‘तपाईंले लेखेको कविता सङ्ग्रह नेपाली भाषामा अनुवाद भएको छ । अत्यन्तै राम्रो छ । नेपालीले रुचाएका छन् ।’

तत्कालीन बेलायतस्थित नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी (दुवसु क्षेत्री) द्वारा अनुवादित तथा सम्पादित ‘सुप्रसिद्ध आइरिस कवि माइकल डि. हिगिन्सका प्रतिनिधि कविता’नामक कविता सङ्ग्रह नेपाली भाषामा प्रकाशित छ । राष्ट्रपति डि. हिगिन्सले नै पाँच वर्षअघि डब्लिनमा भएको कार्यक्रममा कविता सङ्ग्रह लोकार्पण गरेका थिए ।

सभामुख घिमिरेले वयोवृद्ध राष्ट्रपति डि. हिगिन्सको सुस्वास्थ्य तथा दीर्घायुको कामना गर्दै नेपाल भ्रमणको निम्तो दिएका छन् ।