Thursday, July 30

पहिरोको जोखिममा म्याग्दीको महभिर गाउँ

नेपालअखबार, म्याग्दी। म्याग्दीको मालिका गाउँपालिका–४ महभिरको  बस्ती पहिरोको जोखिममा परेको छ। बस्तीमाथिको पाखोबाट खसेको पहिरोले दुई वटा घर भत्किनुका साथै खानेपानी र सडक आयोजनामा क्षति पुगेको छ।

Advertisement

वडासदस्य गर्वे गुरुङले काले कामी र तुलबहादुर घर्तीको घर भत्किएको र १३ घर जोखिममा परेको जानकारी दिए।

Advertisement
Advertisement

‘पहाडको फेदीबाट सुरु भएको दुई वटा पहिरो फेदीमा रहेको रितुङखोला सम्म पुगेको छ,’ उनले भने, ‘ट्याङ्की, मुहान र पाइपलाइनमा क्षति पुगेकाले २५ घरधुरीले प्रयोग गर्ने खानेपानी आयोजना अवरुद्ध भएको छ।’

Advertisement

फूलबारी–महभिर–च्युरीबोट सडक अवरुद्ध भएको छ। पहिरोले गाउँको बिचमा ठूलाठूला खोल्सी बनाएको छ। खोल्सा छेउछाउको जमिन चिरा चिरा भएको छ। दुई सय रोपनी भन्दा बढी खेतीयोग्य जमिनमा पनि पहिरोले क्षति गरेको छ।

गत बुधबार राति आएको पहिरोले तुलबहादुरको गोठमा रहेका एक वटा राँगो र एक वटा गोरु मरेका थिए।

‘हामी त्यो दिन घरमा नभएकाले पहिरोबाट बचियो,’ तुलबहादुरले भने, ‘११ जनाको परिवार आफन्तकोमा आश्रय लिएर बसेका छौं।’

पहिरोले पुरिएकोबाहेक अर्को ठाउँमा रहेको घडेरीमा पनि पहिरोको जोखिम भएकाले कहाँ बस्ने भन्ने चिन्ताले सताएको काले कामी बताउँछन्।

पूर्णदेवी घर्ती, सहबहादुर घर्र्ती, सहबहादुर सुनार, लालबहादुर कामी, तिलक कामी, गोेरे कामी, पोविसरा सुनार, वीरबहादुर कामी, मुक्तिराम सुनार, कुलप्रसाद घर्ती, भीमप्रसाद सुनार, रहमन घर्ती र कुमारी घर्तीको घर जोखिममा रहेका वडासदस्य गुरुङले बताए।

सो ठाउँमा गत हिउँदमा पनि सुक्खा पहिरो खसेर एक वटा घरमा क्षति गरेको थियो। पहिरो प्रभावित क्षेत्रको बिहीबार गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले निरिक्षण गरेका थिए।

‘पहिरोबाट घरवास गुमाएकालाई जिल्ला प्रशासन कार्यालय मार्फत राहतको व्यवस्था हुन्छ,’ उनले भने, ‘घर पुनःनिर्माणका लागि तिनै तहका सरकारको साझेदारीमा पाँच लाखका दरले अनुदान उपलब्ध गराउने व्यवस्था भएकाले सोहीअनुसार सहयोग गर्छौं।’

तत्कालीन रुपमा खानेपानी आपूर्ति र सडक मर्मत तथा पहिरोबाट थप क्षति हुन नदिने र दीर्घकालीन रुपमा पहिरो नियन्त्रण तथा बस्ती संरक्षण अथवा स्थानान्तरणको योजना कार्यान्वयन गरिने उनले बताए। रासस