Tuesday, July 21

पर्यटकलाई सधैं बैसरी पहिरोको चुनौती

नेपालअखबार,। सोह्र श्राद्धका कारण केही दिनयता हिमालपारिको जिल्ला मुस्ताङ धार्मिक पर्यटकले खचाखच छ। दिनहुँजसो मुस्ताङ जाने र फर्कने पर्यटकका कारण जोमसोम–बेनी सडकखण्डमा गाडी लस्करै गुडेका देखिन्छन्। उक्त सडकखण्डमा बैसरीलगायत केही स्थानमा पटक पटक गइरहने पहिरोका कारण घन्टौँ गाडी रोकिदा यात्रुले सास्ती भोग्नुपरेको छ।

Advertisement

सोह्र श्राद्धलाई लक्षित गरी मङ्गलबार नवलपुरबाट हिँडेका सरोज ढकाल र उनको परिबार बेलुका गलेश्वर आएर बास बसे। बुधबार बिहानै मुस्ताङका लागि हिँडेका उनीहरू त्यहाँबाट करिब दुुई तीन किलोमिटरको दूरीमा पुुग्दा सडकमाथिबाट खसेको पहिरोले अघि बढ्नसक्ने अवस्था रहेन। ढकाल परिवार त्यहाँबाट सुरक्षित भई बस्नका लागि पुनः गलेश्वर नै फर्कियो।

Advertisement
Advertisement

दिउँसो ३ः३० बजे पहिरो पन्छाएपछि मात्रै उनीहरू मुस्ताङतर्फ अघि बढे। ढकाल परिवार जस्तै यस सडकखण्डमा यात्रा गर्ने जो कोही पनि यो समस्या दिनानुदिन भोग्दै आएका छन्। बुधबार बैसरीदेखि रुप्सेलगायत चार पाँच ठाउँमा पहिरो गएको थियो । त्यसो त मङ्गलबार पनि झण्डै दिनभर जस्तै उक्त क्षेत्रका पहिरोका कारण पर्यटकले सास्ती भोग्नुपरेको थियो।

Advertisement

बैसरीको पहिरोको कष्टले पर्यटकलाई सास्ती भएको बताउने ‘पुन होटेल’ बैसरीका सञ्चालक जसमाया पुन यहाँको पहिरोको जोखिम आफूूहरूका लागि दैनिकी जस्तै बनेको बताउँछिन्। वर्षातमा यहाँ जाने गरेका पहिरोले बेनीसम्म आउन जान पनि निकै समस्या हुने गरेको बताउँदै पुनले हिउँद लागिसके पनि समस्या ज्युँकोत्युँ रहेको दु:खेसो सुनाइन्।

‘दिनदिनै जाने गरेको पहिराले बाटो अवरुद्ध हुँदा पर्यटकले निकै कष्ट पाउने गरेका छन्,’ उनले भनिन्, ‘वर्षौंदेखिको समस्या समाधान नहुँदा स्थानीयले भोग्ने गरेका दुःख त कति छन् कति।’

उक्त खण्डमा निर्माण कार्यलाई बढाए पनि कछुवाको गतिमा हुँदा समस्या पर्ने गरेको स्थानीयको दुःखेसो छ। विसं २०७२ जेठ ९ गते राति बैसरीमा आएको पहिरो उक्त स्थान र आसपासका क्षेत्रमा लगातार रुपमा पहिरोको समस्या पर्ने गरेको छ । उक्त समयमा बस्तीमाथिबाट पहाडको ढिस्कै खसेर कालीगण्डकी नदी १६ घण्टासम्म थुनिएको अवस्थालाई यहाँका स्थानीय कल्पनासमेत गर्न सक्दैनन्।

बेनी जोमसोम आवतजावत गर्ने यात्रुका लागि चौतारीजस्तै बनेको यो ठाउँ बेगखोला, बैसरी भगवती, राम्चे, पिप्लेलगायत आसपासका स्थानका मानिसको किनमेल गर्ने स्थानीय बजारसमेत थियो।

बैसरीको त्यो प्राचीन मौलिकता पहिरोसँगै हराएको अर्का स्थानीय सोमबहादुर पुनले बताए। केही दिनअघि मात्र बैसरीमा पहिरो खस्दा एक चालकले ज्यान गुमाएको उहाँले जानकारी दिए। ‘मुस्ताङ जाने पर्यटक बर्सेनि बढ्दै गएका अवस्थामा बैसरीको पहिरो दीर्घकालीन समस्याका रुपमा चुनौती बनेको छ,’ उनले भने, ‘निर्माणाधीन सडकलाई चाँडो सम्पन्न गर्ने गरी संवेदनशील ठाउँलाई प्राथमिकताका साथ काम गर्नु आवश्यक छ।’मुस्ताङमा पर्यटकको बढ्दो आकर्षणलाई आत्मसात् गर्दै सडक पूर्वाधारलाई व्यवस्थित गर्ने कुरालाई उच्च प्राथमिकतामा राख्नुपर्ने नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका अधिकृत सागर श्रेष्ठले बताए।

पर्यटकीयरुपमा मुस्ताङको धेरै सम्भावना रहेको उल्लेख गर्दै उनले यहाँको प्रवद्र्धनमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय निरन्तर लागिरहेको बताए। ‘राष्ट्रिय एवं अन्तर्राष्ट्रिय मञ्चमा पनि मुस्ताङको प्रवद्र्धनलाई प्राथमिकतामा साथ उठाउने गरिएको छ,’ उनले भने।

हिन्दू र बौद्ध धर्मको साझा तीर्थस्थल मुक्तिनाथ स्वदेशीका साथै विदेशी पर्यटकको आकर्षक गन्तव्य हो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुक्तिनाथको दर्शन भ्रमण गरेसँगै यहाँ भारतीय पर्यटकको आकर्षण अझै बढेको छ । पछिल्ला वर्षमा भारतीय दर्शनार्थी बर्सेनि ठूलो सङ्ख्यामा आउने गरेको मुक्तिनाथ मन्दिरका पूूजारी कृष्णप्रसाद सुवेदीले जानकारी दिए।

उपल्लो मुस्ताङस्थित माटाको सहरका रुपमा परिचित लोमन्थाङ, नेपाल चीनबीचको कोरोला नाकाका साथै दामोदर कुण्ड आदिले यहाँको महिमा र गरिमा अझै बढाएको छ। रासस