Saturday, July 18

पोखरा महानगर स्तरिय अन्तर क्लव टी–२० क्रिकेट प्रतियोगितामा साँग्रिलाको विजयी शुरुवात

नेपालअखबार, पोखरा।  पोखरा महानगर खेलकुद विकास समितिको आयोजना पोखरामा शनिबारदेखि पोखरा महानगर स्तरिय अन्तर क्लव टी–२० क्रिकेट प्रतियोगिता शुरु भएको छ । पोखरा महानगर क्रिकेट संघको व्यवस्थापनमा शुरु प्रतियोगिताको पहिलो दिन साँग्रिला क्रिकेट क्लवले लेकसाइड क्रिकेट क्वलमाथि १ सय ६१ रनको फराकिलो जित निकाल्यो ।

Advertisement

सिब्रिन श्रेष्ठको धुवाँदार व्याटिङमा साँग्रिलाले २० ओभरमा ३ विकेट गुमाएर २ सय २० रनको योगफल तयार पारेका थियो । शतकिय पारी खेलेका सिब्रिनले ५० बलमा १ सय ३ रन बनाए । बिपिन खत्रीले ११ बलमा ३० तथा रिकेश गुप्ताले २३ रन जोडे । लेकसाइडका बलरहरु नविन विश्वकर्मा, आविद आलम र रवि गुरुङ्गले १÷१ विकेट लिए ।

Advertisement
Advertisement

जितका लागि २ सय २१ रनको विशाल लक्ष्य पछ्याएको लेकसाइडले १६ ओभरमा सम्पूर्ण विकेट गुमाएर ५९ रन मात्रै बनाउन सक्यो । लेकसाइडका सन्देश ठकुरीले १८ तथा सन्दिप तिमिल्सीना र आविद आलमले ८÷८ रन जोडे । साँग्रिलाका विपिन खत्रीले ३ तथा सुदिप पौडेल र सिब्रिन श्रेष्ठले २÷२ विकेट लिए । खेलमा चौतर्फि प्रदर्शन गरेका साँग्रिलाका सिब्रिन श्रेष्ठ म्यान अफ द म्याच भए । उनले रत्नश्री जिम, इन्द्रमार्गको तर्फबाट एक महिनाको निःशुल्क कुपन प्राप्त गरे । प्रादेशिक क्रिकेट संघ गण्डकीका सदस्य ऋषिराम गौतमले उनलाई पुरस्कार प्रदान गरेका थिए ।

Advertisement

यसअघि शनिबारनै हुने भनिएको आरके भिक्टोरियन र आदर्श युवा क्लव लेखनाथ विचको पहिलो खेल वर्षातका कारण ‘रिजर्ब डे’का लागि सारिएको प्रतियोगिता संयोजक जिम्मी गुरुङ्गले जानकारी दिए ।

राइजिङ क्रिकेट क्लव, साँग्रिला क्रिकेट क्लव, पोखरा क्रिकेट क्लव, अरण्यज्योती क्रिकेट क्लव, कास्की क्रिकेट क्लव, आर के भिक्टोरी क्रिकेट क्लव, आदर्श युवा क्लव र लेकसाइड क्रिकेट क्लव गरि ८ टिमको सहभागितामा शुरु प्रतियोगिको आयोजक समितिका अध्यक्ष दीपक बहादुर गोदारले अम्पायर अर्जुन उपाध्यायलाई बल हस्तान्तरण गरि उद्घाटन गरेका थिए । उद्घाटन समारोहमा पोखरा महानगर क्रिकेट संघका अध्यक्ष विरेन्द्र पुन, उपाध्यक्ष गोविन्द प्रधान लगायतले बोलेका थिए ।