Saturday, May 9

समाजवादको यात्राका लागि कम्युनिस्टहरू एक हुनुपर्छ : सम्मानित नेता खनाल

नेपालअखबार, बुटवल । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले  नेपालमा नयाँ ढङ्गको ध्रुवीकरणको आवश्यकता रहेको समेत बताएका छन् । वर्तमान पुँजीवादी शासन व्यवस्थाका कारण मुलुकले कोल्टे फेर्न नसकेको उल्लेख गर्दै समाजवादी व्यवस्थासहितको नयाँ  ध्रुवीकरणको आवश्यकता रहेको उनको भनाइ छ ।

समाजवादी प्रेस संगठन नेपाल, रुपन्देहीले आज भैरहवामा भएको पत्रकार  सम्मेलनमा बोल्दै खनालले समाजवादमा जानका लागि आवश्यक परे विचार मिल्ने कम्युनिस्टहरू एक हुनुपर्ने बताए । उनले यसका लागि नयाँ ध्रुवीकरण जरुरी रहेको खुलाए।

Advertisement

उनले मुलुकमा बेरोजगारी व्याप्त रहेको उल्लेख गर्दै  रोजगारी नहुँदा युवाशक्तिहरु विदेश पलायन भइरहेको जनाए ।  मुलुकमा रोजगारी वृद्धि, सुशासन, शिक्षा, स्वास्थ्य, कृषिलाई प्राथमिकीकरण लगायतलाई केन्द्रमा राखेर पार्टीले समाजवादी जागरण अभियान चलाइरहेको बताउँदै यसले समाजवादतर्फ जान मद्दत गर्ने उनले बताए ।

खनालले २०७४ मा बनेको दुई तिहाइको सरकारबाट जनताले अपेक्षा गरे पनि गलत नेतृत्वका कारण मुलुक फेरि सङ्कटमा परेको जनाए । उनले अहिलेको व्यवस्थाले आम नागरिकलाई भन्दा बढी बिचौलिया, दलाल तथा पुँजीवादीलाई मात्र संरक्षण गरेको उनको आरोप छ।

उनले व्यवस्था फेरिए पनि त्यो व्यवस्था अनुसार जनताको जीवनस्तर र अवस्था नफेरिएको बताउँदै समाजवादमा जाने कि पुँजीवादमै रहने भन्ने विषयमा व्यापक बहस चलाउनु पर्ने बताए ।

समाजवादी पार्टीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जनताका प्रत्यक्ष भोगाइलाई लिएर मेची महाकाली यात्रामा निस्किएको बताए । उनले असोज १४ बाट सुरु भएको यात्रा भैरहवासम्म आउँदा झन्डै ५ हजार बढी स्वतन्त्र नागरिक र विभिन्न पार्टी छाडेर समाजवादी प्रवेश गरेको बताए ।

यात्राका क्रममा आफूहरूले जनतालाई आश्वस्त पार्ने गरी रोजगारी सिर्जना, कृषिमा आधुनिकीकरण, व्यवसायीकरण लगायतका विषयमा आवाज बुलन्द गरेको र यी पूरा गर्न सरकारलाई दबाब दिने बताए । नेता खतिवडाले समृद्धिका लागि रोजगारी र रोजगारीका लागि कृषि सँगसँगै लैजानु पर्नेमा जोड दिए । समाजवादी जागरणको मेची–महाकाली यात्रा असोज २९ मा महेन्द्रनगर पुगेर समापन हुनेछ ।