Saturday, July 25

ताप्लेजुङमा श्रमदानबाटै बनाइयो पहिरोपीडित ६५ घरधुरीलाई आवास

नेपालअखबार, ताप्लेजुङ। ताप्लेजुङमा पछिल्लो समय जनश्रमदान गर्ने चलन विकास हुँदै गएको छ। श्रमदान गर्ने चलन हराउँदै गइरहेको समयमा हाल स्थानीय तहका जनप्रतिनिधि स्वयं अग्रसर हुन थालेपछि पुनः श्रमदान गर्ने संस्कार मौलाउँदै गएको हो।

Advertisement

स्थानीय तहका पदाधिकारी हुँदै वडा–वडाका जनप्रतिनिधि श्रमदान गर्नमा अग्रसर हुन थालेसँगै गाउँगाउँमा भौतिक पूर्वाधारसहितका निर्माण कार्य श्रमदानमार्फत गर्न थालिएको छ। अहिले एक अर्को स्थानीयबीचमा प्रतिस्पर्धाझैँ श्रमदानमार्फत सडक, पुलपुलेसा, गोरेटो बाटो, खेलमैदान निर्माणदेखि सार्वजनिक सम्पत्ति तथा स्थलको सरसफाइलगायतका कार्य गरिँदै आएको छ।

Advertisement
Advertisement

जिल्लाको मैवाखोला गाउँपालिकाले लाखौँ रुपियाँ खर्च हुनसक्ने काम पहिरो पीडितका लागि अस्याथी आवास घर निर्माणको कार्य श्रमदान गरेरै सम्पन्न गरेको छ। साँघुका पहिरो पीडित ६५ परिवारलाई सुरक्षित ठाउँमा बसोबासको व्यवस्था गर्न गाउँपालिकाले ६५ अस्थायी आवास घर श्रमदानबाटै निर्माण गरी सम्बन्धित पीडित परिवारलाई हस्तान्तरण पनि गरिसकेको छ।

Advertisement

यस्तै बर्खा मौसममा बाढीपहिरोले क्षति गरेको मोटरेवल पक्की पुल, अस्थायी काठेपुल, सडकजस्ता क्षतिग्रस्त संरचनाको मर्मत तथा पुनःनिर्माण कार्य पनि श्रमदानमार्फत नै गरी सञ्चालनमा ल्याएका छन् । जिल्लाका नौवटै स्थानीय तहले आ–आफ्नो क्षेत्रमा भएका सार्वजनिक महत्वका क्षतिग्रस्त संरचनाको मर्मत सम्भारका कार्य श्रमदानबाट नै गरिरहेका छन्।

फक्ताङ्लुङ गाउँपालिकाले यातायात नै अवरुद्ध हुने गरी सिस्ने खोलामा बाढी आएर बगाएको काठेपुल श्रमदानबाटै पुनः निर्माण गरी सडक सञ्चालनमा ल्याएको छ। आठराई त्रिवेणी , मैवाखोला र मेरिङ्देन गाउँपालिका जोड्ने मैवाखोलास्थित पक्की पुलको दायाँ–बायाँ सडकसमेतमा बाढी पहिरोले क्षतिग्रस्त बनाएपछि श्रमदानमार्फत नै पुनःनिर्माण गरी सञ्चालनमा ल्याइएको छ।रासस