
नेपालअखबार, काठमाडौं । इजरायल र प्यालेस्टिनी चरमपन्थी समूह हमासबीच १८ दिनदेखि जारी लडाइँमा परी मृत्यु हुनेको संख्या ६ हजार ५०० भन्दा धेरै पुगेको छ।
बीबीसीका अनुसार युद्धका कारण स्थिति निकै दर्दनाक अवस्थामा पुगेको छ । खासगरी गाजा क्षेत्रको अवस्था यति धेरै निराशाजनक छ कि आमा–बाबुहरुले आफ्ना बालबच्चाको हात र खुट्टामा नाम लेखिदिन थालेका छन् ताकि आक्रमणमा परी मृत्यु भएमा आफ्ना छोरा–छोरीको शव चिन्न सकियोस् ।
बीबीसीले खान युनिसमा शरण लिएर बसिरहेको एक परिवारले आफ्नो बच्चालाई बैजनी र कालो रंगको ब्रासलेट लगाइदिएको फोटोसहितको समाचार प्रकाशित गरेको छ । सो समाचारमा लेखिएअनुसार उक्त ब्रासलेटमा बच्चाको नाम लेखिएको छ । किनभने कथंकदाचित इजरायल–हमास युद्धमा त्यो बच्चाको मृत्यु भएमा त्यही ब्रासलेट र ब्रासलेटमा लेखिएको नामबाट बच्चाको पहिचान खुलोस् ।
गत हप्ता सामाजिक सन्जालहरुमा आमा–बाबुले आफ्ना बालबच्चाको हात–खुट्टामा नाम लेखिरहेको भिडियो सार्वजनिक भएको थियो । यसका साथै मुटु काँप्ने फोटो पनि सार्वजनिक भएको थियो, उक्त फोटोमा अस्पतालको शवगृहमा बच्चाहरुको शव लहरैसँग राखिएको थियो । ती मृतक बच्चाहरुको ट्राउजर माथि सार्दै अभिभावकले आफ्नो बच्चाको नाम हेरिरहेका थिए ।

