Sunday, July 19

घरमा किताब जोगिएनन् विद्यालयमा साथी भेटिएनन्

नेपालअखबार, रुकुमपश्चिम। दसैँ, तिहार र छठ पर्वको लामो बिदापछि विद्यालय खुलेका छन् । यसैक्रममा रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–१४ स्थित जनविकास माध्यमिक विद्यालय पनि सोमबारबाट खुल्यो । साथी भेट्ने, कक्षाकोठामा पढ्ने र विद्यालयको प्राङ्गणमा खेल्ने उत्साह बोकेर विद्यालय आएकी कक्षा ८ की १४ वर्षीय कृष्णा मल्ललाई आजको स्कुले दिन भारी लाग्यो । न उनी कसैसँग खुलेर बोल्न सकिन्, न त कक्षाकोठामा छिर्ने आँटै गरिन् ।

Advertisement

गत कात्तिक १७ गते रातिको भूकम्पमा परेर एउटै कक्षामा पढ्ने साथी विराज मल्ल र प्रेमा मल्ल मरेको खबरले कृष्णाको अनुहार उदास भइरह्यो । विद्यालय भवन भत्किएको देखेकी उनको मन पनि भत्कियो । भावविह्वल अवस्थाकी कृष्णाले भनिन्, “प्रेमा र म सधैँ एउटै बेन्चमा बस्थिम्, विराज मेरो कक्षामा सबैभन्दा मिल्ने साथी थियो, मरेको खबर सुन्दा सुरुमा पत्याउन सकिनँ ।”

Advertisement
Advertisement

विद्यालयले प्रार्थना समयमा गरेको मौनधारण कार्यक्रममा उपस्थित शिक्षक, विद्यार्थीहरूका आँखा ओभानो रहन सकेनन् । भत्किएका भवन र तीन जना विद्यार्थी गुमाउँदाको पीडाले विद्यालयमा सन्नाटा छाएको छ । कृष्णालाई कक्षा ४ देखि नै सँगै पढ्दै आएका साथी गुमाउँदाको पीर जति लागेको छ, अरू साथीलाई पनि उस्तै वेदना छ ।

Advertisement

सोही विद्यालयमा कक्षा ८ मा पढ्ने विनोद महताराले विद्यालय नै सुनसान भएको सुनाए । भूकम्पले आफ्नो घर भत्किएको सुनाउँदै विनोदले भने, “मेरा त किताब पनि पुरिएका छन्, साथी पनि गुमेका छन् ।” पुरानो कापी बोकेर आएका विनोदले स्कुलले फेरि पनि किताबको व्यवस्था गरिदिने अपेक्षा बोकेका छन् । कक्षा ८ का ३६ जना साथीमध्ये आज पाँच जना मात्र विद्यालयमा आएको र विद्यालयकै आँगनमा बसेको विनोदले जनाए । कक्षाकोठा चर्किएको देखेका उनीहरूको मन पनि चर्किएको छ ।

विद्यालयका प्रधानाध्यापक दीपक सङ्गम थापाले भूकम्पले गर्दा आफ्नो विद्यालयको तीन विद्यार्थी गुमाउनुपरेको बताए । कक्षा ८ मा अध्ययनरत विनोद र प्रेमा र कक्षा ५ मा अध्ययनरत ११ वर्षीय चन्द्रकला मल्लको भूकम्पमा परेर ज्यान गएको छ । बिदापछि खुलेको विद्यालयमा आज विद्यार्थी पनि थोरै आए । प्रधानाध्यापक थापाले शिशु कक्षादेखि कक्षा १० सम्म ३१५ जना विद्यार्थी रहेकोमा आज करिब ७० जना मात्र विद्यार्थी आएको जानकारी दिए ।

विद्यालयका दुई वटा भवन पूर्ण रूपमा क्षति भएका छन् भने बाँकी तीन वटा भवन चर्किएका छन् । सोसेक नेपालबाट आएका मनोविमर्शकर्ताहरूले मनोवैज्ञानिक असर कम गर्न विभिन्न माध्यमबाट विद्यार्थीलाई प्रेरित गरिरहेको थापाले बताए ।

भूकम्पले आठबिसकोटमा मात्रै ११ जना विद्यार्थीको मृत्यु भएको छ । नगरपालिकाका शिक्षा शाखा प्रमुख इन्द्रबहादुर विष्टले ११ विद्यार्थी, एक जना कार्यालय सहयोगी गुमेको बताए । शाखा प्रमुख विष्टले कक्षा एकदेखि १० सम्मका एक हजार ४४१ किताबका सेट विभिन्न विद्यालयबाट माग भई आएको जनाए । रुकुमपश्चिममा भूकम्पमा परेर १८ जना विद्यार्थीको मृत्यु भएको छ । यो समाचार गोरखापत्र दैनिकामा छ ।