Wednesday, July 29

११ लाख बालबालिकाको विवरण चोरेको भन्दै फेसबुकविरुद्ध अदालतमा उजुरी

नेपालअखबार, काठमाडौं । फेसबुक सञ्चालक संस्था मेटा इन्कमाथि अभिभावकको स्वीकृतिबिना १३ वर्षमुनिका ११ लाख बालबालिकाको तथ्याङ्क संकलन गरेको आरोप लागेको छ ।

Advertisement

न्यूयोर्क टाइम्समा प्रकाशित खबरअनुसार ३३ अमेरिकी राज्यका महान्यायाधिवक्ताहरूको समूहले संघीय अदालतमा दायर गरेको मुद्दामा मेटाले सन् २०१९ देखि गोप्य रूपमा १३ वर्ष मुनिका बालबालिकाको डाटा सङ्कलन गरिरहेको आरोप लगाएका छन् ।

Advertisement
Advertisement

यस अवधिमा मेटाले करिब ११ लाख बालबालिकाको स्थान, इमेल, च्याट, फोटो र अन्य जानकारी सङ्कलन गरी बजारमा आफ्नो फाइदामा प्रयोग गरेको उनीहरूको जिकिर छ ।

Advertisement

उजुरीमा लाखौं किशोर किशोरीको व्यक्तिगत विवरण मेटाका लागि ‘ओपन सेक्रेट’ जस्तै भएको उल्लेख गरिएको छ।

मेटाले गोपनीयता कानुनको उल्लङ्घन गरेको आरोप उजुरीमा जिकिर गरेको छ । यो आरोप प्रमाणित भएमा मेटाले लाखौं डलर वा सोभन्दा बढी जरिवाना तिर्नुपर्ने हुनसक्छ ।

मार्क जुकरबर्गको स्वामित्वमा रहेको यस कम्पनी विरुद्ध गत महिना क्यालिफोर्निया, न्यूयोर्क, कोलोराडो जस्ता राज्यहरूले क्यालिफोर्नियाको उत्तरी जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए ।

उजुरीमा मेटाले नियतवश यस्ता सुविधाहरू सिर्जना गरेको जसले बालबालिकाहरूमा लाइकको लत लाग्ने आरोप लगाइएको थियो । यद्यपि मेटाले आफ्नो प्लेटफर्म सुरक्षित रहेको दाबी गर्दै राज्यहरूले अदालतको बाटो रोज्नु निराशाजनक रहेको उल्लेख गरेको छ ।