
नेपालअखबार, काठमाडौँ । पैँतिस वर्षअघि स्थापना भएको त्रिभुवन विश्वविद्यालय (त्रिवि) को जनसङ्ख्या अध्ययन केन्द्रीय विभाग यतिखेर विद्यार्थी अभावमा बन्द हुने अवस्थामा पुगेको छ । कुनैबेला वार्षिक तीन सय विद्यार्थीले अध्ययन गर्ने गरेको यो विभागमा अचेल विद्यार्थी पढ्न आउँदैनन् ।
बिहान सबेरै पढाउन गएका प्राध्यापकहरू कक्षाकोठामा विद्यार्थी नपाएपछि घर फर्किने गरेका छन् । एकाबिहानै विभाग आइपुगे पनि विद्यार्थी नआएपछि उक्त विभागका सहप्राध्यापक बालकृष्ण माबुहाङले दुई दिनअघि फेसबुकमै लेखे, “पढाउने पिरियडभरि विद्यार्थी पर्खी बसेँ, आएनन् । कसलाई, कसले दोषारोपण गर्ने वा विद्यार्थी खोज्न जाने १”
विभागका प्रमुख डा. सञ्जिता बर्माले भनिन्, “स्कुल तथा विश्वविद्यालयको तल्लो तहमा हिन्दी विषयको पढाइ नभएपछि माथिल्लो तहमा भर्ना हुने विद्यार्थीको अभाव भएको हो । हिन्दी विषय पढ्ने विद्यार्थीका लागि विश्वविद्यालयले बनाएको अन्य नीतिगत व्यवस्था पनि बाधक बनेको छ ।”
पछिल्लो समय त्रिविवि अन्तर्गतका थुप्रै केन्द्रीय विभागले विद्यार्थी अभावको समस्या झेल्दै आएका छन् । बजारको माग अनुसार नयाँ विषय नहुनु पनि विद्यार्थी सङ्ख्या घट्नुको कारण हो । पछिल्लो समय नेपाली विद्यार्थीको लर्को विदेशी विश्वविद्यालयतर्फ भएपछि नेपालका विश्वविद्यालय प्रायः सबैले विद्यार्थी अभाव झेल्न थालेका छन् ।
प्राध्यापक तथा प्रशासनिक कर्मचारीसमेत पर्याप्त रहे पनि विद्यार्थी नआएपछि विभागलाई कसरी अघि बढाउने भन्ने चिन्तामा विभागीय प्रमुखहरू छन् । विशेषगरी मानविकी तथा सामाजिकशास्त्र सङ्काय अन्तर्गतका केन्द्रीय विभागहरूले यस्तो समस्या झेल्दै आएका छन् ।
सोही सङ्कायको नेपाली केन्द्रीय विभाग, मनोविज्ञान केन्द्रीय विभाग, भाषा विज्ञान केन्द्रीय विभागलगायतमा पनि नगण्य मात्रामा मात्रै विद्यार्थी छन् । यने समाचार गोरखापत्र दैनिकमा छ ।

