Wednesday, July 8

नारायणगढ–मुग्लिन खण्डका दुई पुल सञ्चालनमा

नेपालअखबार, चितवान। नारायणगढ–मुग्लिन सडकखण्डका दुई पुल सञ्चालनमा आएका छन्।

Advertisement

लामो बालुवा र डुम्रे खोलामा निर्माण गरिएका पुल बुधबारदेखि सञ्चालनमा आएका हुन्।

Advertisement
Advertisement

यससँगै दुईवटै पुल भएर गाडी गुड्न थालेको नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का इन्जिनियर विजय दराईले जानकारी दिए।

Advertisement

उनका अनुसार यसअघि पाँचवटा पुल सञ्चालनमा आइसकेका छन्। सडकखण्डका १९ मध्ये पहिलो चरणमा पाँच पुल निर्माण भएका हुन्।

सेती दोभानको पुल यसअघि नै निर्माण सम्पन्न भएर सञ्चालनमा आइसकेको दराईले बताए।

शुक्रबारसम्म टोपेखोला र चिसेन्जीको पुलसमेत सञ्चालनमा ल्याउने तयारी गरिएको उनले जानकारी दिए।

निर्माणाधीन पुलमध्ये आठ वटा पुल दुई महिनाभित्र सञ्चालनमा ल्याउने गरी काम भइरहेको उनले बताए।

‘अधिकांश पुलको निर्माण अन्तिम चरणमा छ,’ इन्जिनियर दराईले भने, ‘कालोपत्र र मर्मतको काम सकिएपछि दुई महिनाभित्र सञ्चालनमा ल्याउँछौँ।’

दुई महिनाभित्र जुगेडी, सिमलताल, रिद्धी, भोर्ले, नाम्सी, टोपे, कालीखोला र खहरेमा निर्माण भइरहेका पुल सञ्चालनमा आउने छन्।

खहरे दुई र तुइन खोलामा भने पुल निर्माण हुन समय लाग्ने भएको छ । खहरेको पुल निर्माणको ५० प्रतिशत काम सकिएको छ भने तुइन खोलामा निर्माणको काम अघि बढ्न सकेको छैन । तुईन खोलामा पहाड काट्न समस्या भएपछि काम रोकिएको हो।

आयोजनाले अहिले भारतबाट विस्फोटक पदार्थ ल्याएर पहाड फोर्ने तयारी गरेको छ।

‘सम्भवत एक महिनाभित्र विस्फोटक पदार्थ ल्याएर पहाड फोर्ने तयारी भइरहेको छ, आयोजनाका सूचना अधिकारी कृष्ण आचार्यले भने, ‘बारुद राख्नका लागि नेपाली सेनाद्वारा बंकरको निर्माण गर्ने काम भइरहेको छ।’

यस सडकखण्डमा २०७६ चैतदेखि १५ पुल निर्माण थालिएका थिए । विश्व बैंकको सहयोगमा पुल निर्माण गरिएका हुन्।