Saturday, July 25

काठमाडौंमा पानी ल्याउन मेलम्ची पुगे खानेपानी मन्त्री

नेपालअखबार, काठमाडौं । खानेपानीमन्त्री महिन्द्रराय यादव खानेपानी आयोजना निरीक्षणका लागि मेलम्ची पुगेका छन् । बाढीका कारण क्षति पुगेको मेलम्ची आयोजनाको मुहानलगायत क्षेत्रमा अनुगमनका लागि उनी त्यहाँ पुगेका हुन् ।

Advertisement

खोला तर्दै गर्दा मन्त्री यादव भने काठमाडौँवासीलाई चाँडो पानी पुर्‍याउनुपर्छ है भन्दै निर्देशन दिएका थिए । मन्त्री यादवले निर्देशन दिए पनि बाढीले मुहानलगायत क्षेत्रमा निकै ठूलो क्षति गरेकाले कहिले काठमाडौंमा पानी आउँछ भन्ने यकीन समय भन्न नसकिने अवस्थामा रहेको छ ।

Advertisement
Advertisement

मन्त्री यादव पानी काठमाडौँ चाडो पठाउने विषयमा छलफल गर्न भन्दै शनिबार पनि त्यतै बसेका छन् । जस्तोसुकै परिस्थितिको सामना गरेर भए पनि पानी काठमाडौँ झानुपर्ने भन्दै मन्त्री यादव विभिन्न निकायका व्यक्ति तथा निर्माण व्यावसायीसँग छलफलमा जुटेका उनको सचिवालयका टङ्क धमलाले बताए ।

Advertisement

उनले भने, ‘मेलम्चीको पानी काठमाडौँ पुर्याउने विषयमा मन्त्री लागि पर्नुभएको छ, सबैसँग छलफल भइरहेको छ, बाढीका कारण क्षति पुगेका संरचना निर्माण गरेर चाँडै पानी काठमाडौँ पुग्छ ।’

निर्माण व्यावसायीको ढिलाई र बाढीले आयोजना संरचनामा क्षति पुर्याएकाले पानी काठमाडौँ पठाउनका लागि केही ढिलाई भएको मन्त्री यादवले बताए । ‘ठेकेदारले काम नगरेमा उपभोक्ता समितिबाट भए पनि काम गरी चाँडोभन्दा चाडो पानी काठमाडौँ पठाउन हामी लागिपरेका छौँ, एक महिना भित्रमा पानी काठमाडौँ पुर्याउने हाम्रो लक्ष्य हो’, उनले भने ।

मेलम्ची खानेपानीको मुहान स्थल हेलम्बु अम्बाथान लगायतको क्षेत्रको स्थलगत अनुगमन पछि मन्त्री यादवले बाढीका कारण मुहानलगायत क्षेत्रमा समस्या भए पनि काठमाडौँ पानी पठाउनका लागि तीव्रगतिमा काम सुरु भएको बताए । उनले भने, ‘मुहानमा बाढीलगायत विभिन्न समस्याका बाबजुद पनि अहिले काम सन्तोष जनक हिसाबले भइरहेको छ ।’

बाढीका कारण मेलम्चीका ७ नम्बर गेट, ९ नम्बर गेड, १९ नम्बर गेट र २१ नम्बर गेटमा क्षति पुर्‍याएको मेलम्ची खानेपानी आयोजनाको कार्यालयले जनाएको छ । क्षति पुर्याएका संरचना निर्माणदेखि मर्मत गरेर पानी काठमाडौँमा पठाउनुपर्ने अवस्था रहेको मेलम्ची खानेपानी आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुवँरले बताए ।

उनले भने, ‘यति दिनमा पानी काठमाडौँ पुग्छ भन्न सक्ने अवस्था छैन, काम तीब्र गतिमा सुरु भएको छ, पानी काठमाडौँमा महिना दिनमा पुर्याउने आशा गरेका छौँ ।’ प्राविधिक र अन्य समस्या भएकाले यतिदिन भित्र पानी पुग्छ भन्न सकिने अवस्था नभएको र अन्य समस्या र अवरोध नआए एक महिनामा पानी काठमाडौँ पुग्ने उनको भनाइ छ ।

हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले काठमाडौँमा पानी पठाउनका लागि स्थानीय सरकारकातर्फबाट पूर्णरुपमा सहयोग भइरहेको बताए । उनले भने, ‘मेलम्चीको पानी काठमाडौँ पठाउनका लागि स्थानीय सरकार र जनता पूर्णरुपमा सहयोग गरिरहेका छन्, हाम्रा पनि केही माग भएकाले पटकपटक प्रधानमन्त्री तथा अन्य मन्त्रालयमा ज्ञापनपत्र बुझाएका छौँ, ती मागहरुको सम्बोधन हुनुपर्छ ।’ रासस