Thursday, July 30

पर्यटक लोभ्याउँदै फुतफुते झरना

नेपालअखबार, म्याग्दी । गत हप्ता अन्नपूर्ण हिमालको आधार शिविरको पदयात्रामा गएका पूर्वमुख्य सचिव डा.सोमलाल सुवेदी करिब एक घण्टा फुतफुते झरनामा बिताए ।  उनीसँगै आएका पर्यटनविद् रामहरि लामिछाने पनि अन्नपूर्ण गाउँपालिका-४ स्थित फुतफुते झरनाको सौन्दर्यमा रमाए ।

Advertisement

‘फुतफुते झरना अवलोकन गर्दा प्रकृतिको दाइने आँखाको मोति खसेझै महसुस भयो,’ उनले भने, ‘अमेरिकाको नाग्रा फल्स भन्दा धेरै सुन्दर लाग्यो यो झरना । एक पटकै आउनैपर्ने ठाउँ रहेछ् ।’ फुतफुते झरनाको वेसान आवाजमा रमाउदा जलको मोतिमा डुबेको अनुभव गरेको पर्यटनविद् लामिछानेले बताए ।

Advertisement
Advertisement

उनीहरुका लागि मात्र नभएर नारच्याङदेखि अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जोड्ने ‘मौरिस हर्जोग’ पदमार्गको भ्रमणमा आउने पर्यटकका लागि फुतफुते झरना थकान मेटाउने र प्रकृतिसँग रमाउने थलो बनेको छ ।

Advertisement

कडा चट्टानलाई बीचमा पानीको बहावले काटेर झर्ने झरनाको पानीको दृश्यले यात्रालाई रोमाञ्चक बनाएको पूर्व मुख्य सचिव सुवेदीले बताए । ‘सबै झरना पहाडबाटै बग्ने हुन्, तर यो झरनाले पहाडलाई छेडेर निस्किएजस्तो देखिन्छ,’ उनले भने, ‘झरनाको फेदीमा रहेको निलो रङको पानीको तलाउ नियालेर धित नै नमर्ने रहेछ् ।’ अग्लो पहाडबाट सेतो रङ्गमा खस्ने झरनाको फेदीमा बनेको निलो रङ्गको सफा तलाउ मनमोहक छ ।

करिब ५० मिटर उचाइको झरनाको फेदीमा गोलो आकारको तलाउ छ । वनजङ्गल, एकान्त वातावरण र पहाडको फेदीमा रहेको फुतफुते झरनाको सुन्दरताले यात्राको थकान मेटाउने र मनलाई शान्त बनाएको अन्नपूर्ण गाउँपालिका-६ घारका राजाराम बरुवालले सुनाए ।

नीलगिरि र अन्नपूर्ण हिमालबाट आउने मिस्त्रीखोलाको पानी यसै झरना भएर बग्नेगर्छ । झरना र फेदीमा रहेको पानीको तलाउमा पर्यटकले तस्बिर र भिडियो खिचेर रमाउने गर्छन् ।

अन्नपूर्ण हिमालका प्रथम आरोही फ्रान्सका मौरिस हर्जोगले हिमाल आरोहण गर्दा प्रयोग गरेकै बाटो समेटेर पदमार्ग तयार भएको छ । प्रथम आरोहीको सम्मानमा यो पदमार्गको नाम ‘मौरिज हर्जोग’ राखिएको छ । फुतफुते झरना यो पदमार्गको आकर्षण बनेको वडा सदस्य भीम शेरपुञ्जाले बताए ।

नारच्याङदेखि हुमखोलासम्म दुई घण्टा गाडी र हुमखोलादेखि एक घण्टा ३० मिनेट पैदल हिँडेपछि फुतफुते झरनामा पुग्न सकिन्छ । हुमखोला भन्दामाथि बस्ती नभएकाले खाने बस्ने सुविधा छैन् ।

पर्यटक आफैले तयारी खाना खाजा लिएर जानुपर्छ ।सामाजिक सञ्जाल र सञ्चार माध्यममा यो झरना ‘भाइरल’ बनेको छ । दुई वर्षअघि सुनसान हुने झरना हेर्न मात्रै दैनिक २०/३० आन्तरिक पर्यटक आउने गरेका मौरिस हर्गोज पदमार्गका अभियन्ता तेज गुरुङले बताए ।

फुतफुते झरनाको परिसरमा पर्यटन पूर्वाधार निर्माण गरी प्रवद्र्धनका लागि तयारी गरिएको अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताए ।

‘फुतफुते झरना वारपारका लागि अहिले रहेको काठको झोलुङ्गे पुललाई मर्मत गर्ने तयारी गरिएको छ,’ उनले भने । ‘फुतफुतेसहित मौरिस हर्गोज पदमार्ग र अन्नपूर्ण आधार शिविरक्षेत्रमा पूर्वाधार निर्माणका लागि पर्यटन गुरुयोजना बनाउन अध्ययन सुरु भएको छ ।’