Monday, August 3

कोशीमा लिम्बू र मैथिलीलाई सरकारी कामकाजको भाषा बनाउ: एकीकृत समाजवादी

नेपालअखबार, विराटनगर।  कोशी प्रदेशको सत्तारूढ दल नेकपा एकीकृत समाजवादीले लिम्बू र मैथिली भाषालाई प्रदेशको सरकारी कामकाजको भाषाका रूपमा प्रयोग गर्न माग गरेको छ।

Advertisement

बुधबारको प्रदेशसभा बैठकमा दलका तर्फबाट विशेष समय लिएर बोल्दै एकीकृत समाजवादीकी सांसद खिनु लड्वा लिम्बूले भाषा आयोगको सिफारिस र संविधानको प्रबन्ध अनुसार लिम्बू भाषा र मैथिली भाषालाई सरकारी कामकाजको भाषा बनाउन माग गर्नुभएको हो ।

Advertisement
Advertisement

‘प्रदेश सरकारी कामकाजको भाषासम्बन्धी विधेयक यसअघि नै अन्तिम चरणमा पुगिसकेको छ’, सांसद लिम्बूले भन्नुभयो , ‘विधेयकलाई अघि बढाएर सरकारले कार्यान्वयनको चरणमा लैजानुपर्छ। दलको तर्फबाट म यो माग गर्दछु।’
भाषा आयोगले  २०७८ सालमै सरकारलाई बुझाएको प्रतिवेदनमा त्यसबेलाको १ नम्बर प्रदेश (हालको कोशी) मा   मैथिली र  लिम्बू भाषालाई प्रदेशको सरकारी कामकाजको भाषा बनाउन सुझाव दिएको थियो।

Advertisement

२०७९ मा प्रदेश सरकारले नन्द कन्दङ्वाको संयोजकत्वमा कार्यदल गठन गरेर अध्ययनसमेत गरेको थियो। सोही कार्यदलले मैथिली र लिम्बू भाषा प्रयोग गर्ने विधेयकको मस्यौदासमेत गरेको थियो।

प्रदेशको कानुन र आर्थिक मामिला मन्त्रालयबाट स्वीकृति पाएर मन्त्रिपरिषदको अन्तिम स्वीकृतिको पर्खाइमा रहेको भन्दै सांसद लिम्बूले विधेयकलाई कार्यान्वयनमा लैजान माग गर्नुभएको हो ।
‘भाषा आयोगको सिफारिस, संविधानको व्यवस्था र अघिल्ला सरकारहरूले गरेको तयारी अनुसार विधेयकलाई अन्तिम रूप दिएर कार्यान्वयन गर्न माग गर्दछु’, उहाँले भन्नुुभयो , ‘प्रदेशमा रहेका बहुसंख्यक नागरिकले बोल्ने भाषा सरकारी कामकाजको भाषामा समेटिनै पर्छ।’