Friday, July 17

४ वर्षपछि सौराहामा हात्ती महोत्सवको तयारी

नेपालअखबार, चितवन । कोरोना महामारीका कारण स्थगन गरिएको हात्ती महोत्सव चार वर्षपछि पुनः सुरु गर्न लागिएको छ । सन् २०१८ पछि यस वर्ष हात्ती महोत्सव गर्न लागिएको हो ।

Advertisement

क्षेत्रीय होटल सङ्घ सौराहाको आयोजनामा हुने १७औँ हात्ती तथा पर्यटन महोत्सवको तयारी गरिएको छ । आगामी पुस १० देखि १४ गतेसम्म अङ्ग्रेजी नयाँ वर्षमा पर्यटक भित्र्याउने उद्देश्यका साथ महोत्सव आयोजना गर्न लागिएको हो ।

Advertisement
Advertisement

हात्ती तथा पर्यटन महोत्सवका संयोजक ओमप्रकाश पाण्डेका अनुसार लामो समयदेखि रोकिएको महोत्सव यसपटकदेखि नयाँ ढङ्गले गर्न लागिएको छ । महोत्सवका लागि सरोकारवालासँग छलफल सुरु गरिएको छ । हात्तीमैत्री गतिविधि मात्रै सञ्चालन गरेर अघिल्ला महोत्सवभन्दा यसपटक फरक बनाउन खोजिएको उनले बताए ।

Advertisement

पहिला गरिँदै आएको छावाको फुटबल, पोलो, हात्ती दौडजस्ता गतिविधिले हात्तीलाई दुःख हुने गरेको गुनासो बढेपछि यस वर्ष त्यस्ता गतिविधि नगर्ने उनको भनाइ छ ।

यसपटक हात्तीको वनभोज, हात्ती सुन्दरी प्रतियोगिता मात्रै गर्ने योजनामा आयोजक रहेको क्षेत्रीय होटल सङ्घका महासचिव गुणराज थपलियाले बताए । योसँगै डुङ्गा दौड, पर्यटकीय गोष्ठी र सेमिनार गरिनेछ ।

हात्ती महोत्सवको मुख्य आकर्षण भनेको हात्ती सुन्दरी प्रतियोगिता भएको भन्दै उनले हात्तीको सरसफाइ, स्वास्थ्य र सजावटको मूल्याङ्कन गरी हात्तीलाई सुन्दरीको उपाधि दिइनेछ । महोत्सवमा हात्तीलाई बिदा दिएर एक दिन उसलाई मनपर्ने परिकार खुवाइनेछ ।

यसपटक ३० निजीसहित ४० हात्ती वनभोजमा सहभागी गराइने युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष दीपेन्द्र खतिवडाले जानकारी दिए । हात्तीको संरक्षण प्राथमिकतामा राखिएको भन्दै उनले हात्तीको स्याहार, स्वास्थ्यसहितको कार्यक्रम अहिलेको मुख्य आकर्षण हुने बताए ।

यसपटक चित्रसारीको चौरमा महोत्सव गर्न लागिएको हो । यसअघि बाघमारा मध्यवर्ती सामुदायिक वनमा हात्ती महोत्सव हुँदै आएको थियो । चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती सामुदायिक वन र यससँगै बग्ने नदीमा रहेका वन्यजन्तु, चराचुरुङ्गी, जलचरलगायतका अवलोकन गर्ने बर्सेनि सौराहामा स्वदेशी तथा विदेशी पर्यटक आउने गर्दछन् ।यहाँ आउने पर्यटकलाई नयाँ स्वादको मनोरञ्जन प्रदान गर्न हात्ती महोत्सव गरिँदै आएको सङ्घका पूर्वअध्यक्ष सुमन घिमिरेले बताए । अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर आयोजना गरिने महोत्सवले स्वदेशीसँगै विदेशी पर्यटकलाई थप आकर्षित गर्ने उनको भनाइ छ ।