Wednesday, July 8

विद्यार्थीलाई उत्पादनसँग जोड्न अध्यक्ष नेपालको आग्रह

नेपालअखबार, काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सामुदायिक विद्यालयले गुणस्तरीय शिक्षाका अतिरिक्त विद्यार्थीलाई उत्पादनसँग जोड्ने पाठ्यक्रम कार्यान्वयन गर्नुपर्ने बताउनु भएको छ।

Advertisement

आइतबार काठमाडौँको शङ्खरापुर नगरपालिका–१ स्थित चाँपाबोट मावि भवनको अनुगमनका क्रममा अध्यक्ष नेपालले केही सामुदायिक विद्यालयले राम्रो पढाइ सञ्चालन गरेकाले भर्ना पाउन प्रतिस्पर्धा हुने गरेको बताउँदै व्यावसायिक शिक्षाले विद्यार्थीको सिर्जनशील कार्यमा आत्मविश्वास बढ्ने बताउनु भयो।

Advertisement
Advertisement

उहाँले अब्बल जनशक्ति उत्पादन गर्ने शिक्षण संस्थाको स्तरोन्नतिमा सरकारले लगानी वृद्धि गर्नुपर्नेमा जोड दिनुभयो। अध्यक्ष नेपालले विद्यालय संरचना विकास तथा भवन मर्मतका लागि सम्बन्धित निकायमा आफूले पहल गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नु भएको छ।

Advertisement

अध्यक्ष नेपाललाई विद्यालय प्रधानाध्याक हरिबहादुर गौतम, सहायक प्रधानाध्यापक तेजनाथ दङ्गाललगायत शिक्षक तथा वडाध्यक्ष बाबुराम दङ्गाल, वडा सदस्य भूमिप्रसाद दङ्गाल र रामकृष्ण ढुङ्गानाले विद्यालयको गतिविधि बारेमा जानकारी गराउनु भएको थियो। विसं २०७२ को विनासकारी भूकम्पले क्षति भएको विद्यालयको केही भाग मर्मत तथा पुन: निर्माणसमेत गरिएको छ।