Saturday, May 23

आज पनि एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक

नेपालअखबार, काठमाडाैं ।   नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी सातौं बैठक बिहीबार पनि छ। आज बिहान ११ बजेदेखि ललितपुरको ग्वार्खोमा सुरू हुने बैठकमा विधानको मस्यौदामाथि छलफल हुने उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए।

विधानमाथिको छलफलका लागि एकीकृत समाजवादीले प्रश्नावली केन्द्रीय सदस्यलाई उपलब्ध गराएको छ।

Advertisement

महाधिवेशनको प्रतिनिधि कसरी निर्वाचित गर्ने?, केन्द्रीय कमिटीको संरचना कस्तो बनाउने? केन्द्रीय परिषद्को संरचना कस्तो रहने? कमिटीको आकार कस्तो हुने? लगायतका विषय प्रश्नावलीभित्र छन्।

त्यस्तै नेतृत्व चयनको विधि के हुने? कमिटीको तहगत संरचना के हुने? प्रदेशमा आयोगको व्यवस्था गर्ने कि नगर्ने? कमिटीमा उमेरहदको प्रावधान राख्ने कि नराख्ने? कमिटीमा पदाधिकारीको संख्या कति हुने? लगायतका विषय पनि प्रश्नावलीमा छन्।

यिनै प्रश्नमा आधारित भएर बुधबार १५ जना सदस्यले धारणा राखेको उपाध्यक्ष पाण्डेले जानकारी दिए।

एकीकृत समाजवादीभित्र केन्द्रीय कमिटी र केन्द्रीय आयोगका सदस्य आ–आफ्ना निर्वाचन क्षेत्रबाट चुनिएर प्रतिनिधिका रूपमा आउनुपर्ने आवाज बाक्लिँदै गएको उनले बताए।

त्यस्तै उमेरहदमाथि पनि बहस छ। नेतृत्वपंक्ति कार्यकारी कमिटीमा उमेरहद नराख्न सहमत भइसकेको छ। सदस्यहरूबाट सुझाव आउने क्रम सुरू भएको उनले बताए।

एकीकृत समाजवादीको केन्द्रीय कमिटी ३ सय ३७ सदस्यीय छ। बैठक भोलिसम्म जारी रहने पनि उनले बताए।