Friday, July 3

यी हुन्रा ष्ट्रिय सभामा सत्ता गठबन्धन र एमालेका उम्मेदवारहरू (सूची)

नेपालअखबार, काठमाडाैं। राष्ट्रिय सभा निर्वाचनअन्तर्गत सोमबार उम्मेदवारी दर्ता हुँदैछ। सोमबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सम्बन्धित प्रदेशमा रहेको प्रदेश निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता हुनेछ।

Advertisement

माघ ११ गते १९ स्थानका लागि हुने निर्वाचनमा सत्ता गठबन्धन, नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले उम्मेदवारी दिने तयारी गरेका छन्। मुख्यरूपमा सत्ता गठबन्धन र नेकपा (एमाले)बीच नै प्रतिस्पर्धा हुनेछ।

Advertisement
Advertisement

सत्ता गठबन्धनबाट नेपाली कांग्रेसले १०, माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले २ र जनता समाजवादी पार्टी (जसपा)ले १ सिटमा उम्मेदवारी दिँदैछन्। आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले सोहीअनुरूप सिट बाँडफाँट गरेको थियो।

Advertisement

आफूले पाएको सिटमा नेपाली कांग्रेसले राति अबेरसम्म छलफल गरेर उम्मेदवारीको टुंगो लगायो। एकीकृत समाजवादीले सोमबार बिहान उम्मेदवारी टुंग्यायो भने नेकपा (माओवादी केन्द्र)ले आइतबार नै उम्मेदवारी छिनोफानो गरेर टिकट वितरण गर्‍यो।

यी हुन् कांग्रेसले टुंग्याएका १० उम्मेदवार

नेपाली कांग्रेसले कोशी प्रदेशको अन्य समूहबाट कृष्णप्रसाद सिटौलालाई उम्मेदवार बनाएको छ। पूर्वमहामन्त्री रहेका सिटौला यसअघि दुई पटक प्रतिनिधि सभा सदस्य निर्वाचनमा पराजित भएका थिए। कांग्रेसले सिटौलालाई राष्ट्रिय सभा अध्यक्ष बनाउने गरी यसपालि चुनावी मैदानमा उतारेको हो।

मधेसमा आनन्द ढुंगाना उम्मेदवार भएका छन्। उनी केन्द्रीय सदस्य तथा अनुशासन समिति संयोजक हुन्। उनी संस्थापन पक्षका हुन्।

बागमतीमा विष्णुदेवी पुडासैनी र जितजंग बस्नेत उम्मेदवार बनाउने नेपाली कांग्रेसले निर्णय गरेको छ।

पुडासैनी नेपाल महिला संघ काठमाडौंकी अध्यक्ष हुन् भने बस्नेत कांग्रेस केन्द्रीय सदस्य तथा नेपाल तरूण दलका पूर्वअध्यक्ष हुन्। पुडासैनी संस्थापनइतर र बस्नेत संस्थापन पक्षका हुन्।

गण्डकीमा किरणबाबु श्रेष्ठ र पदमबहादुर परियार उम्मेदवार बन्ने भएका छन्। गोरखाका श्रेष्ठ गण्डकी कांग्रेस महामन्त्री हुन्। उनी संस्थापनइतर पक्षका हुन्। परियार तनहुँका हुन्।

लुम्बिनीमा विष्णुकुमारी सापकोटालाई उम्मेदवार बनाउने निर्णय भएको छ। उनी संस्थापनइतर पक्षकी हुन्।

कर्णालीमा कृष्णबहादुर रोकाया उम्मेदवार भएका छन्। उनी कर्णाली कांग्रेस महामन्त्री हुन्। रोकाया संस्थापन पक्षका हुन्।

सुदूरपश्चिममा नारायणदत्त भट्ट र बलदेव बोहरालाई उम्मेदवार बनाउने निर्णय भएको छ। भट्ट कांग्रेस कैलाली सभापति हुन्। बोहरा कांग्रेस कञ्चनपुरका पूर्वसभापति हुन्। उनीहरू दुवै संस्थापन पक्षका हुन्।

 माओवादी केन्द्रका ६ उम्मेदवार

नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभामा आफ्नो भागमा परेका ६ वटै सिटमा उम्मेदवारको नाम टुंगो लगाइसकेको छ। आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले उम्मेदवार टुंगो लगाएको हो।

माओवादी केन्द्रले कोशीबाट महिला कोटामा चम्मादेवी कार्की, बागमतीमा अपाङ्गता तथा अल्पसंख्यकको कोटामा श्रीकृष्ण अधिकारीलाई उम्मेदवार बनाउने भएको छ।

गण्डकीमा महिलातर्फ मनरूपा शर्मा उम्मेदवार बन्ने भएकी छन्। लुम्बिनीमा अन्यबाट झक्कु सुवेदी उम्मेदवार बन्ने भएका छन्। २०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा काठमाडौं–२ बाट तत्कालीन नेकपा (एमाले)का महासचिव माधवकुमार नेपाललाई हराएर चर्चामा आएका थिए।

यसैगरी कर्णालीको दलित कोटाबाट विष्णु विश्वकर्मा र सुदूरपश्चिममा महिला कोटामा रेणु चन्द उम्मेदवार बन्ने भएका छन्।

एकीकृत समाजवादीले दोलखाका घनश्याम र दैलेखकी सावित्रीलाई उठाउने

सत्ता साझेदार दल एकीकृत समाजवादीले राष्ट्रिय सभाका दुई उम्मेदवारको टुंगो लगाएको छ। सोमबार बिहान कार्यदलले दुई जना उम्मेदवारको टुंगो लगाएको हो।

एकीकृत समाजवादीले बागमतीको दलित कोटामा दोलखाका घनश्याम रिजाल विश्वकर्मालाई उम्मेदवार बनाउने भएको छ।

कर्णालीको महिला कोटामा दैलेखकी सावित्री मल्ललाई उम्मेदवार बनाउने निर्णय गरेको उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए।

आइतबार बिहान बसेको सचिवालय बैठकले उम्मेदवार टुंग्याउने जिम्मा अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव घनश्याम भूसाललाई दिएको थियो।

सत्ता गठबन्धनमै रहेको जनता समाजवादी पार्टी (जसपा)ले एक सिट पाएको छ। त्यसमा रौतहटकी पूजा चौधरीलाई उठाउने निर्णय गरिसकिएको जसपाका केन्द्रीय कार्यकारिणी सदस्य राजेन्द्र श्रेष्ठले बताए।

एमालेले कस-कसलाई बनायो उम्मेदवार

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आइतबार दिउँसो टुंगो लगाएको हो। प्रदेश कमिटीले पठाएको नामहरूमाथि एमालेले सचिवालय बैठकमा छलफल गरेको थियो। तीन नामहरूमाथि अन्तिम निर्णय गर्ने अधिकार सचिवालय बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको थियो।

अध्यक्ष ओली र महासचिव शंकर पोखरेलले आइतबार दिउँसो नाम टुंगो लगाएका हुन्।

एमालेले बागमती प्रदेशमा अन्य समूहबाट चितवनका त्रिलोचन निर्मल पौडेल, महिलातर्फ दोलखाकी रोचकुमारी चौलागाईं, दलिततर्फ धादिङका ध्रुवराज विश्वकर्मालाई एमालेले उम्मेदवार बनाएको छ।

अपाङ्गतातर्फ विवेक देवकोटा उम्मेदवार बन्ने भएका छन्। काठमाडौंका देवकोटा एमालेको युवा संघमा आवद्ध थिए। युथ फोर्समा सक्रिय रहेका बेला माओवादीसम्बद्ध योङ कम्युनिस्ट लिगले आक्रमण गर्दा खुट्टा गुमाउन पुगेको एमालेले बताएको छ।

कर्णालीमा अन्य क्लस्टरबाट मुगुका डिल्लीराज भट्ट उम्मेदवार बन्ने भएका छन्।

दलिततर्फ दैलेखका हिक्मत विश्वकर्मा र महिलातर्फ हुम्लाकी विमलाकुमारी शाहीलाई एमालेले उम्मेदवार बनाएको छ।

सुदूरपश्चिम प्रदेशको महिलातर्फ कैलालीकी सावित्रा घिमिरे, अपाङ्गतातर्फ कैलालीकै रामचन्द्र जोशी र अन्य क्लस्टरबाट कञ्चनपुरका ईश्वरीप्रसाद खरेल उम्मेदवार बन्न लागेका छन्।

गण्डकी प्रदेशमा अन्य क्लस्टरबाट स्याङ्जाका चक्रबहादुर पराजुली उम्मेदवार बन्ने भएका छन्। पहिले यही क्लस्टरबाट राष्ट्रिय सभा सदस्य हुँदै अध्यक्ष भएका गणेश तिमिल्सिनाको पदावधि फागुन २० गते सकिँदैछ।

गण्डकीकै अपाङ्गता/अल्पसंख्यक निर्वाचन क्षेत्रबाट मुस्ताङका हेमन्द्र शेरचन र महिलातर्फ गोरखाकी सम्झना देवकोटालाई एमालेले उम्मेदवार बनाउने भएको छ।

कोशी प्रदेशमा अन्य निर्वाचन क्षेत्रबाट भोजपुरका परशुराम अधिकारी र महिलातर्फ सुनसरीकी रूक्मिणी कोइराला उम्मेदवार बन्ने भएका छन्।

लुम्बिनी प्रदेशबाट अन्य समूहबाट पाल्पाका झपेन्द्रबहादुर बिसी र महिलातर्फ तुलसाकुमारी केसीलाई उम्मेदवार बनाउने निर्णय गरेको महासचिव पोखरेलले बताएका छन्।

मधेस प्रदेशमा अन्य समूहबाट महोत्तरीका अर्जुनकुमार सिंह र महिलातर्फ पर्साकी उषा थरूनीलाई उम्मेदवार बनाउने भएको छ।

राप्रपाले ९ सिटमा मात्रै उम्मेदवारी दिने

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ९ सिटमा मात्रै उम्मेदवारी दिने भएको छ।

राप्रपाले आइतबार कार्यसम्पादन समितिको बैठक बसेर ९ जना उम्मेदवार टुंगो हो। राप्रपाले कोशी प्रदेशमा उद्धव पौडेललाई उम्मेदवार बनाउने भएको छ।

बागमती प्रदेशमा हेमजंग गुरुङ, नानु नगरकोटी, भरतमणि भट्ट र पूर्णबहादुर विश्वकर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

गण्डकीमा गौमाया श्रेष्ठ, रोमबहादुर भण्डारी, लुम्बिनीमा निरञ्जन थापा, विजयलक्ष्मी सिंह उम्मेदवार बन्ने भएका छन्।

राष्ट्रपतिबाट मनोनीत हुने कोटामा भने  सत्ता गठबन्धनले  जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललाई सिफारिस गर्ने निर्णय गरिसकेको छ।

rastriyasabha_candidate-1704683022-1704683903.jpg