Monday, August 10

आर्थिक कूटनीतिलाई पनि तीव्रता दिनका लागि काम अघि बढ्दै : मन्त्री साउद

नेपालअखबार, काठमाडाैं । परराष्ट्रमन्त्री एनपी साउदले आगामी वैशाखमा हुने लगानी सम्मेलनका लागि नेपालले गृहकार्य गर्नुपर्ने बताएका छन्। मन्त्री साउदले नयाँ बानेश्वरस्थित होटल एरेस्टमा शुक्रबार आयोजित ‘अवार्ड फर एक्सेलेन्स’ कार्यक्रमलाई सम्बोधन गर्दै लगानीमैत्री वातावरण बनाउनुपर्ने आवश्यकता औंल्याउँदै थप गृहकार्य आवश्यक रहेको बताएका हुन्।

Advertisement

उनले भने, ‘सबैभन्दा महत्वपूर्ण कुरा लगानीमैत्री वातावरण बनाउन आवश्यक छ। आन्तरिक पनि बाह्यरुपमा पनि हामीले लगानीको वातावरण बनाउनुपर्दछ। आन्तरिक रुपमा हाम्रा जति पनि लगानीकर्ताहरु छन्, उनीहरुलाई अझ बढी लगानी गर्न र नेपालमै लगानी गरी प्रतिफल हात पार्न सकिन्छ भन्‍ने सुरक्षाको प्रत्याभूति दिलाउन आवश्यक छ।’

Advertisement
Advertisement

मन्त्री साउदले आर्थिक कूटनीतिलाई पनि तीव्रता दिनका लागि काम गरिरहेको बताएका छन्। थपे, ‘लगानी सम्मेलनका लागि परराष्ट्रमन्त्रीको हैसियतले आर्थिक कूटनीतिको पाटो महत्वपूर्ण छ र यसका लागि हामीले काम गरिरहेका छौं।’

Advertisement

उनले विदेशीलाई आकर्षित गर्नका लागि लगानीमैत्री वातावरण बनाउन लगानीसम्बन्धी नीतिमा भएका सुधारहरु देखिने गरी बुझाउन पनि आवश्यक रहेको बताएका छन्। भने, ‘कुनै पनि लगानी सम्मेलन नेपालमा हुनुभन्दा अगाडि हाम्रो लगानी नीतिमा विदेशीलाई आकर्षित गर्नका लागि लगानीमैत्री वातावरण बनाउन के-के सुधार गर्न सक्यौं, त्यो कुरोचाहीँ पहिले प्रस्तुत हुन आवश्यक छ। त्यो काम जति चाँडो हामीले गर्न सक्छौं, त्यो मोडल लिएर हामीले यी-यी कुराहरु गर्न सक्यौं भनेर बाह्य लगानीकर्ताहरुलाई भन्‍नसक्छौं- तपाईंहरु आउनुस्, त्यसको प्रतिफल पनि आफ्नो देशमा सुरक्षित लैजान सक्‍नुहुन्छ।’

मन्त्री साउदले नेपालमा गर्ने लगानी पनि प्रतिफलमुखी हुने, फाइदा हुने र पुन:लगानी गरेर त्यसो नाफालाई आफ्नो देशमा लैजान सुरक्षा दिन सकिन्छ भन्‍ने प्रत्याभूति दिलाउन सक्नुपर्ने बताउका छन्। भने, ‘यो काममा सरकारको मन्त्रिमण्डलको तर्फबाट परराष्ट्रमन्त्रीको तर्फबाट म पनि आफ्नो किसिमले कोशिस गर्छु, लगानी बोर्ड र अन्य निकायहरुले पनि विशेष गरेर लगानी सम्मेलनका लागि काम गरिरहनु भएको छ। लगानीको लगानीमैत्री ढाँचा आइसकेपछि अनि त्यो सम्मेलनको प्रभावकारिता बढ्छ। लगानीमैत्री वातावरण बनाउन सकेनौं भने ‘ठूला’ मान्छेहरु आउँछन्, हात मिलाउँछन् र जान्छन्। हामीले लगानीका क्षेत्रमात्रै पनि पहिल्याउन सकेनौं भने पनि त्यो सम्मेलन रिट्रिट मात्रै हुन्छ, परिणाम हात पार्न सक्दैनौं। यसमा संवेदनशील भएर हेर्नुपर्ने र विचार पुर्‍याउनुपर्ने मैले देखेको छु।’