Tuesday, July 28

प्रमुख प्रतिपक्ष नेकपा एमाले अत्यन्त गैर जिम्मेवार ढंगले नकारात्मक भूमिका निर्वाह : अध्यक्ष नेपाल (दस्ताबेजकाे पूर्णपाठसहित)

नेपालअखबार, काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपालले प्रमुख प्रतिपक्ष नेकपा एमाले अत्यन्त गैर जिम्मेवार ढंगले नकारात्मक भूमिका निर्वाह गरिरहेको बताएका छन् । एमाले विभिन्न ढंगले सरकार संचालनमा रहेको वर्तमान गठबन्धन तोड्न उद्यत रहेको अध्यक्ष नेपालको भनाइ छ ।

Advertisement

आइतबारदेखि सुरु भएको पार्टीको दोस्रो केन्द्रीय परिषद् बैठकमा समसामयिक राजनीति र नेपालको अवस्थाबारे लिखित सम्बोधन गर्दै अध्यक्ष नेपालले देशको राजनीतिक, आर्थिक, सांस्कृतिक र अन्तर्राष्ट्रिय अवस्थाबारे चर्चा गर्ने क्रममा यस्तो बताएका हुन् ।

Advertisement
Advertisement

‘सत्ताच्युत भएर प्रमुख प्रतिपक्षमा पुगेको एमाले अत्यन्त गैर जिम्मेवार ढंगले नकारात्मक भूमिका निर्वाह गरिरहेको छ र विभिन्न ढंगले सरकार संचालनमा रहेको वर्तमान गठबन्धन तोड्न उद्यत रहेको छ’, अध्यक्ष नेपालको भनाइ छ ।

Advertisement

उनले मुलुकको राष्ट्रिय राजनीतिक परिस्थितिमा अझै पनि अस्थिरताका बादलहरु मडराइरहेको भन्दै आम निर्वाचन २०७९ को परिणामले निर्माण गरेको राजनीतिक शक्ति सन्तुलनमा खासै परिवर्तन नभएको बताएका छन् । साथै उनले माघ ११ को राष्ट्रिय सभा निर्वाचनमा नेकपा एमालेले सत्तागठबन्धनमा उलटफेर ल्याउने प्रयास गरेपनि त्यो सम्भव नभएको बताएका छन् ।

‘मुलुकमा कोभिडको प्रकोपपछि प्रकट भएको आर्थिक संकट र मन्दी अहिलेसम्म पनि कायमै छ । यसमा केही सुधार भए पनि उठेको राजस्वले चालु खर्च धान्न धौ–धौ परिरहेको छ । मूल्यवृद्धि र मुद्रास्फीति बढिरहेको छ’, अध्यक्ष नेपालले भनेका छन्, ‘व्यापार घाटा चुलिँदै गएको छ । ठूलो सङ्ख्यामा युवा जनशक्ति वैदेशिक रोजगारीमा गएको छ र रेमिट्यान्सले अर्थतन्त्रलाई टेवा दिइरहेको अवस्था छ । आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन गर्ने भनिए पनि त्यस अनुसारको काम हुनसकेको छैन ।’

पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले कृषि क्षेत्रमा लगायत अन्य धेरै क्षेत्रमा परनिर्भरता कायमै रहेको बताएका छन् ।

‘लाखौँको संख्यामा रहेको भूमिहीन र गरिब किसान तथा अव्यवस्थित बसोबासीहरुले वर्षौदेखि भोगचलन गर्दै आएको जमिनमाथिको स्वामित्व प्राप्त गर्ने र उत्पादनको न्यायोचित वितरण गर्ने काम अहिलेसम्म पनि हुनसकेको छैन’, नेपालले भनेका छन्, ‘विगत सात दशकदेखि उठिरहेको क्रान्तिकारी भूमिसुधारको मुद्दा अहिलेसम्म पनि कार्यान्वयनको दिशामा अघि बढ्न सकेको छैन ।’

सामाजिक भेदभावको अन्त्य र सामाजिक न्यायको विषय अहिले पनि जनसरोकारको चर्को मुद्दा बनेको भन्दै नेपालले नेपाली जनतामाथि शोषण उत्पीडनको नयाँ रुप मिटरव्याजी शोषण चरम बनेको बताएका छन् ।

उनले भ्रष्टाचार, कमिशनतन्त्र र तस्करीका अनेकौँ काण्डहरु उदाङ्गिएको भन्दै  सरकारले भ्रष्टाचारीहरुलाई कारबाही गर्ने प्रयास गरिरहेको बताएका छन् । ‘आर्थिक क्षेत्रको सुधार र भ्रष्टाचार नियन्त्रण एवं सुशासनका निम्ति अभैm प्रभावकारी कार्य गर्नुपर्ने आवश्यकता छ’, अध्यक्ष नेपालले भनेका छन्, ‘मुलुकको वर्तमान अवस्थामा जनताको निराशा, प्रतिरोध र आक्रोशको भावनालाई उपयोग गर्दै प्रतिगमनकारी तथा पश्चगमनकारीहरुबाट विद्यमान व्यवस्था परिवर्तनको नाममा विभिन्न गतिविधिहरु संचालन गरी राजनीतिक अस्थिरता सिर्जना गर्ने र सामाजिक सद्भाव खलबलाउने कोसिस भइरहेको छ ।’

उनले यस्तो अवस्थामा वर्तमान वाम–लोकतान्त्रिक शक्तिको सरकारका सामु निश्चित दायित्वहरु रहेको पनि बताएका छन् । उनले गठबन्धनका दलहरुबिच छलफल गरेर तयार पारिएका न्यूनतम साझा कार्यक्रम कार्यान्वयनमा लैजानुपर्ने बताएका छन् । ‘वर्तमान सरकार उपर्युक्त दायित्व पूरा गर्न अझ गम्भीरता र तदारुकताका साथ लाग्न आवश्यक छ’, अध्यक्ष नेपालले आफ्नो पार्टी सरकार संचालनको क्षेत्रबाट राष्ट्रियता, लोकतन्त्र, जनजीविका, सुशासन, मानव अधिकार र सामाजिक न्यायको पक्षमा प्रभावकारी ढङ्गले काम हुनु पर्दछ भन्ने मान्यतामा रहेको बताएका छन् ।

गठबन्धनका दलहरुबिचमा आपसी समझदारीका साथ काम हुनपर्दछ भन्नेमा पार्टीले जोड दिएको भन्दै नेता नेपालले मुलुकमा राजनीतिक स्थिरता र सरकारको स्थिरताको प्रश्न पनि उठिरहेको बताएका छन् ।

‘यसको मुख्य कारण सदनभित्र गणतन्त्रवादी र गणतन्त्र विरोधी, परिवर्तनकारी र प्रतिगमनकारी, अग्रगामी र पश्चगामी, संघीयता पक्षधर र संघीयता विरोधी, धर्म निरपेक्षतावादी र धर्मसापेक्षतावादी आदि विभिन्न चरित्रका राजनीतिक शक्तिहरू उपस्थित छन् । यी सक्तीहरूबिच अनेक प्रकारले द्वन्द्व चलिरहेको छ’, नेपालले भनेका छन्, ‘यसरी चलिरहेको द्वन्द्वले गर्दा मुलुकमा राजनीतिक अस्थिरता पैदा गर्ने प्रयत्न एक वा अर्को ढंगले भइरहेको छ ।’ नेपालले पेस गरेको दस्ताबेजमा प्रतिपक्षमा रहेका दलहरुले जस्तासुकै विषयमा पनि संसद् अवरोध गर्ने गरेको भन्दै  सत्ताच्युत भएर प्रमुख प्रतिपक्षमा पुगेको एमाले अत्यन्त गैर जिम्मेवार ढंगले नकारात्मक भूमिका निर्वाह गरिरहेको र विभिन्न ढंगले सरकार संचालनमा रहेको वर्तमान गठबन्धन तोड्न उद्यत रहेको बताएका छन् ।

आइतबार र सोमबार दुई दिन चल्ने केन्द्रीय परिषद् बैठकले विधान संशोधन मस्यौदामाथि छलफल गरेर अन्तिमरुप दिनेछ । त्यसपछि आगामी जेठमा हुने राष्ट्रिय महाधिवेशनले अनुमोदन गरेसँगै संशोधित विधान कार्यान्वयनमा जानेछ ।