Friday, July 31

राष्ट्रिय सभा अध्यक्षको चुनाव फागुन २९ गते गर्ने तयारी

नेपालअखबार, काठमाडाैं। राष्ट्रिय सभा अध्यक्ष पदको निर्वाचन फागुन २९ गते गर्ने तयारी गरिएको छ।

Advertisement

राष्ट्रिय सभाले तयार पारेको सम्भावित कार्यसूचीअनुसार फागुन २९ मा राष्ट्रिय सभा अध्यक्षको चुनाव हुनेछ।

Advertisement
Advertisement

राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श शाखाले तयार पारेको सम्भावित कार्यतालिका अनुसार माघ महिनामा २२ गते, २४ गते, २८ गते र २९ गते बैठक बस्नेछ।

Advertisement

साथै फागुनमा ५ गते, ११ गते, १४ गते, १७ गते, १८ गते, २१ गते, २७ गते, २९ गते र ३० गते बैठक हुनेछ।

कार्यतालिका अनुसार संसद सञ्चालन हुने हो भने फागुन २९ गते राष्ट्रिय सभाको अध्यक्षको चुनाव हुनेछ।

गत माघ ११ गते रिक्त १९ सदस्यका लागि राष्ट्रिय सभा चुनाव भएको थियो।

नेपाली कांग्रेसका १०, नेकपा (माओवादी केन्द्र) का ५, नेकपा (एकीकृत समाजवादी) का २, जसपाका १ र नेकपा (एमाले) का १ जना निर्वाचित भएका थिए।

यससँगै राष्ट्रिय सभामा माओवादी १७ सांसदसहित ठूलो दल बनेको छ। १६ सांसदसहित कांग्रेस दोस्रो, १० सांसदसहित एमाले तेस्रो र ८ सांसदसहित एकीकृत समाजवादी चौथो दल बनेको छ।

राष्ट्रिय सभामा जसपाका ३, लोसपा र राष्ट्रिय जनमोर्चाका एक-एक जना सदस्य छन्। सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्ने एक सदस्य अझै रिक्त छ।

राष्ट्रिय सभा अध्यक्षका लागि कोशीबाट नवनिर्वाचित सदस्यसमेत रहेका कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला आकांक्षी छन्। उनलाई राष्ट्रिय सभा अध्यक्ष पदमा उठाउनकै लागि उम्मेवार बनाइएको कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र नेता शेखर कोइरालाले बताएका थिए।

माओवादी केन्द्रले पनि राष्ट्रिय सभा अध्यक्षमा दाबी गर्ने तयारी गरेको छ। माघ ११ को चुनावमा सत्ता गठबन्धन दलहरूले तालमेल गरेर साझा उम्मेदवार तय गरेका थिए तर कोशीमा मा‌ओवादीकी उम्मेदवार चम्पादेवी कार्की पराजित भएकी थिइन्।

कार्की पराजित भएकोमा माओवादीका कतिपय नेताहरूले कांग्रेस संस्थापनइतर समूह (शेखर कोइराला) पक्षको असहयोग भनेका छन्। तर कांग्रेसको संसदीय दल बैठकले कोशीमा अप्रत्याशित परिणाम आएको निष्कर्ष निकालेको थियो।

माओवादीले कोशीमा आफूहरूले एक सिट गुमाउनु परेको र सत्ता गठबन्धनभित्र समझदारीअनुसार आलोपालो प्रधानमन्त्री छाड्दा संवैधानिक परिषदमा एक जना पनि सदस्य नहुने अवस्था देखिएकोले आफूहरूले राष्ट्रिय सभा अध्यक्ष पाउनुपर्ने दाबी गरिरहेको छ।

राष्ट्रिय सभा अध्यक्ष पनि संवैधानिक परिषदमा सदस्य रहने व्यवस्था छ।

राष्ट्रिय सभा अध्यक्ष कसलाई बनाउने भन्ने विषयमा कांग्रेस र माओवादीसहित सत्ता गठबन्धन दलका शीर्ष नेताले छलफल गरिसकेका छैनन्। कांग्रेसका नेता सिटौलाले भने आफू कार्यकारी भूमिका (मन्त्री भएर सरकारमा) जानेभन्दा पनि नीति निर्माणमा आफ्नो रूची रहेको बताउने गरेका छन्। रासस