Tuesday, July 28

राहत पर्खिरहेका प्यालेस्टिनी नागरिकमाथि गोलाबारी, कम्तीमा ११२ जनाको मृत्यु, ७६० जना घाइते

नेपालअखबार, एजेन्सि । उत्तरी गाजामा राहत सामग्रीको पर्खाइमा रहेका कम्तीमा ११२ प्यालेस्टिनी नागरिकहरू बिहीबार मारिएका छन् । गाजा सहरमा उपस्थित एक पत्रकारका अनुसार मानिसहरू सहायता सामग्री सङ्कलन गर्न आएका थिए । त्यति नै बेला इजरायली ट्याङ्कहरूले उनीहरूमाथि गोली चलाउन थाले। यस घटनामा करिब ७६० जना घाइते भएका छन् ।

Advertisement

हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले यसका लागि इजरायली सेनालाई जिम्मेवार ठहर गरेको छ ।  इजरायली सेनाले भने एक विज्ञप्तिमा ट्याङ्कहरूले चेतावनीमूलक गोली मात्र चलाएको तर राहत सामग्रीले भरिएका ट्रकहरूमा आक्रमण नगरेको बताएको छ। इजरायली सेनाले राहत सामग्री बोकेको ट्रकले किचेर धेरै मानिसको मृत्यु भएको दाबी गरेको छ । हमासले इजरायलको यो दाबी अस्वीकार गरेको छ ।घटनापछि अमेरिकी राष्ट्रपति जो बाइडेनले अब गाजामा सेनाले आकाशबाट खाद्यान्न खसाल्ने घोषणा गरेका छन् । अमेरिकी सेनाले यसरी गाजामा खाद्य सामग्री पुर्‍याउन लागेको यो पहिलो पटक हो।

Advertisement
Advertisement

जोर्डन र फ्रान्सले पहिले नै गाजामा खाद्यान्न र अन्य राहत सामग्री आकाशबाट खसालिरहेका छन्। गाजामा राहत खाद्यान्न सामाग्री आकाशबाट खसाल्ने निर्णयको घोषणा गर्दै बाइडेनले भने, ‘हाल गाजामा आउने राहत सामग्री पर्याप्त छैन।’ उनले अमेरिकाबाट आउने सामानहरू खानका लागि तयारी अवस्थामा (रेडी टू इट) हुने बताए ।

Advertisement

यता भारतले उत्तरी गाजामा मानिसको मृत्युप्रति दुःख व्यक्त गरेको छ । परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हिजो उत्तरी गाजामा मानवीय सहायता पुर्‍याउने क्रममा मानिसहरूको मृत्युबाट हामी गहिरो दुःखी छौँ। त्यहाँ नागरिकको मृत्यु र मानवीय अवस्था गम्भीर चिन्ताको विषय हो। हामी मानवीय सहायताको सुरक्षित र समयमै वितरणको लागि हाम्रो आह्वान दोहोर्‍याउँछौँ,’ मन्त्रालयले एक विज्ञप्तिमा भन्यो। यस बयानमा इजरायलको बारेमा कुनै उल्लेख छैन।