Sunday, April 19

१२ घण्टा बित्यो तर नियन्त्रणमा आएन झापाको उद्योगमा लागेको आगो

नेपालअखबार,झापा । झापा मेचीनगर-१५ ज्यामिरगढीस्थित प्लाइउड उद्योग भगवती लेमिनेट्समा आगलागी सुरू भएको १२ घण्टा पूरा हुँदा पनि आगो नियन्त्रणमा आउन सकेको छैन।

आज बिहान ५ बजे सुरू भएको आगलागीबाट उद्योगको एउटा सेडभित्र रहेको केही मेसिनसहितको कच्चा पदार्थ ध्वस्त भएको छ।

Advertisement

घना आवादी भएको गाउँको मध्यभागमा रहेको उद्योगमा भएको आगलागीले सिंगो गाउँ त्रस्त बनेको छ। आगलागी भैरहेको सेडसँग जोडिएको अर्को ब्लकमा आगो फैलिन नदिन प्रयास जारी रहेको प्रहरीले जनाएको छ।

‘आगो लागिरहेको ब्लकसँगै जोडिएको अर्को ब्लकमा झनै धेरै प्रज्ज्वलनशील सामग्री छ,’ उद्योगमा बिहानैदेखि खटिएका प्रहरी अधिकारीहरूले भने, ‘त्यतातिर आगो सर्न नदिने प्रयास जारी छ।’

झापा, इलाम, मोरङ र भारतका १० वटा दमकल, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीसहितको टोली आगो निभाउन बिहानैदेखि खटिएका छन्। तर, सुख्खा काठका सामानको थुप्रोमा लागेको आगो झन्झन् तेजिलो बनेको अग्नि नियन्त्रकहरूले बताएका छन्।

‘करिब ७० प्रतिशत आगो नियन्त्रणमा आयो भन्ने लागिरहेको थियो,’ अग्नि नियन्त्रकहरूले भने, ‘तर, सुख्खा काठे सामानमा सल्केको आगो निभाउन गाह्रो भैरहेको छ।’  झापाका प्रहरी प्रमुख एसपी मिलन केसीका अनुसार दिनभरिमा आगो धेरै मत्थर भए पनि अपेक्षा अनुसार नियन्त्रणमा आएको छैन।

‘नियन्त्रण प्रयास जारी छ तर अपेक्षा अनुसार आगो नियन्त्रण हुन सकेको छैन,’ उनले भने, ‘अझै लामो समय लाग्न सक्ने देखिन्छ।’

१४ सय मजदुरले काम गर्ने यो उद्योगमा आधा दर्जनभन्दा बढी सञ्चालक छन्।