Saturday, July 18

पार्टीको परीक्षामा उत्तीर्ण हुनेले मात्रै टिकट पाउँछन्: ओली

नेपालअखबार, काठमाडाैं। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जनता र पार्टीको काममा सक्रिय रहेका व्यक्तिलाई मात्र अब पार्टीले टिकट दिने बताएका छन्।

Advertisement

एमाले बागमती प्रदेशले बिहीबार मध्यपुरथिमिको बोडेमा आयोजना गरेको प्रदेशस्तरीय जनप्रतिनिधिको प्रशिक्षण कार्यक्रममा अध्यक्ष ओलीले अब पार्टी सदस्यताकै आधार बनाएर टिकट नदिने बताए।

Advertisement
Advertisement

पार्टीको सदस्यता लिएको यति वर्ष भयो भनेर सदस्यता लिएको वर्ष गनेर मात्र टिकट नबाँडिने उल्लेख गर्दै उनले देश, जनता र पार्टीको काममा निरन्तर लाग्नेलाई मूल्याङ्कनका आधारमा पार्टी र चुनावमा टिकट दिइने बताए।

Advertisement

‘देश र जनताको काममा सक्रिय भएर लाग्नुस्, समाजको विकासमा लाग्नुस्, पार्टीको काममा सक्रिय हुनुहोस्, तबमात्रै टिकट पाइन्छ। पार्टीको अब आउने अधिवेशनमा होस् वा स्थानीय तहदेखि संसदीय निर्वाचनमा होस्, पार्टीको परीक्षामा उत्तीर्ण हुनेले मात्रै टिकट पाउँछन्,’ उनले भने।

विगतमा पार्टी अधिवेशन एवं महाधिवेशनमा होस् कि स्थानीय तहदेखि संसदीय तहसम्म पार्टी सदस्यता लिएको यति वर्ष भयो, उति वर्ष भयो, मैले केही पाइनँ भनेर टिकट माग्न आउने गरेका स्मरण गर्दै अध्यक्ष ओलीले टिकटका लागि पार्टीको परीक्षामा उत्तीर्ण हुनुपर्ने बताए।

पार्टीले जिल्ला–जिल्लामा भेला र प्रशिक्षण आयोजना गर्ने तथा ती भेला र प्रशिक्षण नै परीक्षाको रूपमा रहने भन्दै उनले देश र पार्टी बनाउन एमालेका नेता, कार्यकर्ता एक भएर लाग्नुपर्नेमा जोड दिए। रासस