Sunday, May 24

समाजवादी मोर्चामा एमालेलाई ल्याउनेबारे छलफल

नेपालअखबार, काठमाडौं । माओवादी केन्द्रसहितको चार दलीय समाजवादी मोर्चाले नेकपा एमालेलाई पनि सहभागी गराउने बारेमा छलफल गरेको छ ।

सत्ता समीकरण फेरिएसँगै शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मोर्चाको बैठकले एमालेलाई पनि समेट्नेबारे छलफल गरेको हो ।

Advertisement

मोर्चाका संयोजक नेत्रविक्रम चन्द विप्लवका अनुसार शुक्रबार बसेको बैठकले अन्य दलसँग पनि छलफल गरेर कार्यक्रम ल्याउने बताए । ‘मोर्चालाई अन्य दललाई पनि कसरी समेट्ने भनेर छलफल भयो । मसाल मोर्चामा आउन सहमत भइसकेको छ । हामीले एमालेसँग पनि छलफल गरिरहेका छौँ’, विप्लवको भनाइ छ, ‘एमालेसँग मोर्चाका शीर्ष नेताहरूले कुरा गर्ने भन्ने भएको छ ।’

यसअघि बिहीबार विप्लव र उनको पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले एमाले अध्यक्ष केपी ओलीसँग भेट गरेका थिए ।

ओलीसँगको भेटमा मोर्चामा सहभागी हुने विषयमा सकरात्मक कुराकानी भएको र त्यस बारेमा आफूले बैठकमा समेत जानकारी गराएको विप्लवको भनाइ छ ।