Saturday, July 11

अन्नपूर्ण क्षेत्रमा एक महिनामा भित्रिए तीस हजार पर्यटक

नेपालअखबार, पाेखरा। एक महिनामा ३० हजार एक सय ९९ विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका छन्। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का अनुसार दक्षिण एसियाली मुलुकका १४ हजार छ सय ६८ र अन्य देशका १५ हजार पाँच सय ३१ जना पर्यटकले गत मार्चमा सो क्षेत्रको भ्रमण गरेका हुन्।

Advertisement

अन्नपूर्ण चक्रीय पदमार्ग विश्वभरका पदयात्री पर्यटकको रोजाइमा रहेकाले चिसो याम समाप्त भएसँगै पर्यटक आगमन बाक्लिएको एक्यापका प्रमुख डा रविन कडरियाले बताए।

Advertisement
Advertisement

‘वैशाखको अन्त्यसम्ममा यस क्षेत्रमा भित्रने पर्यटकको सङ्ख्या अझ बढ्छ,’ उनले भने, ‘असोज–कात्तिक र चैत–वैशाख पदयात्रा पर्यटनका लागि उत्तम मानिन्छ।’ यी दुवै याममा अन्नपूर्ण क्षेत्रको पदयात्राका लागि आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्ने गरेको उनले बताए।

Advertisement

अघिल्लो वर्ष एक सय ७३ देशका एक लाख ९१ हजार पाँच सय ५८ पर्यटक अन्नपूर्ण क्षेत्रमा भित्रिएका थिए।

यो संख्या हालसम्मकै बढी भएको आयोनजा उनले जानकारी दिए। त्यसअघि सबैभन्दा बढी सन् २०१९ मा एक लाख ८१ हजार पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका थिए। सन् २०२१ मा  १६ हजार एक सय पाँच पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका थिए। सन् २०२२ मा एक लाख २९ हजार सात सय ३३ पर्यटक आएका थिए। रासस