Saturday, July 11

प्रदेशमा सत्ता गठबन्धनलाई समर्थन नगर्ने राप्रपाको निर्णय

नेपालअखबार, काठमाडौँ । राप्रपाले प्रदेश सरकार निर्माणका क्रममा एमाले नेतृत्वको सत्ता गठबन्धनलाई समर्थन नगर्ने निर्णय गरेको छ। प्रवक्ता मोहन श्रेष्ठले राप्रपा बिना सरकारनै नबन्ने परिस्थिति बनेमा हाल कायम सत्ता गठबन्धनलाई समर्थन नगर्ने बुधबार बसेको पदाधिकारी बैठकबाट निर्णय भएको  बताए ।

Advertisement

दिनै परेमा विपक्षी गठबन्धनलाई दिने गरी निर्णय भएको उनको भनाइ छ । ‘यसअघिको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रदेश सरकारलाई पार्टीले समर्थन गर्नुपरेको खण्डमा परिस्थिति हेरेर मत दिने तर सरकारमा भने नजाने निर्णय गरेको थियो’, उनले भने, ‘सोही निर्णयलाई निरन्तरता दिँदै आवश्यकताअनुसार मत दिने तर एमाले नेतृत्वको गठबन्धनलाई नदिने निर्णय भएको छ ।’

Advertisement
Advertisement

अध्यक्षले यसम्बन्धमा सम्बन्धित प्रदेशसँग परामर्श गरेर आवश्यकतअनुसार सहयोग गर्ने-नगर्नेबारे निर्णय लिने उनको भनाइ छ ।

Advertisement

गण्डकी प्रदेशमा राप्रपा निर्णायक दल रहेको छ । सो प्रदेशमा ठुलो दलको हैसियतमा कांग्रेसले सरकार निर्माणको पहल गर्दैगर्दा राप्रपाले गरेको निर्णयले एमालेमाथि तनाव बढेको छ। यदि राप्रपा यो निर्णयमा कायमै रहेमा एमालेले आफ्नो भागमा परेको गण्डकी प्रदेश सरकार गुमाउने देखिन्छ ।

मुख्यमन्त्री सुरेन्द्र पाण्डेले राजीनामा दिएसँगै गण्डकीका प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि बुधवार चैत २७ गतेसम्मको समय दिएर नयाँ सरकार गठन गर्न आह्वान गरिसकेका छन् ।  प्रवक्ता श्रेष्ठले  अब राप्रपासँग कांग्रेसले साथ मागेमा छलफल गरेर उपयुक्त निर्णय लिइने बताए ।