Tuesday, April 21

२१ वर्षीया सुत्केरीमा कोरोना पुष्टि भएपछि तीन गाउँ सिल

नेपाल अखबार,गुल्मी । गुल्मीमा एक जना सुत्केरी महिलामा कोरोना संक्रमण पुष्टि भएपछि गुल्मी दरबार गाउँपालिका तीनवटा गाउँ पूर्ण बन्द (सिल) गरिएको छ।
सो गाउँपालिका–७ की २१ वर्षीया सुत्केरीमा शनिबार कोरोना पुष्टि भएपछि अन्य व्यक्तिको स्वाब परीक्षण रिपोर्ट नआउँदासम्म उक्त वडाका तीनवटा गाउँ सिल गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिएका छन्।
सुत्केरीको प्रत्यक्ष सम्पर्कमा रहेका अन्य व्यक्तिहरुको आजदेखि कन्ट्याक ट्रेसिङको प्रक्रिया शुरु गर्न थालेको छ। सो गाउँपालिका–७ अन्तर्गतका रोटेपानी, उखाप र रिपाहाका बासिन्दालाई सार्वजनिक रुपमा सूचना जारी गरी अत्यावश्यक कामबाहेक कोही पनि मानिसलाई घरबाहिर ननिस्किन तथा बाहिरी मानिसलाई समेत गाउँ प्रवेशमा रोक लगाइएको वडाध्यक्ष टोपबहादुर बस्नेतले बताए। ती महिलालाई आरडीटी पोजेटिभ देखिएपछि गत साता आइतबार लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा रिफर गरिएको थियो।
लुम्बिनी मेडिकल कलेज प्रभासबाट स्वाब संकलन गरेर भैरहवा पठाएकामा शनिबार पीसीआर रिपोर्ट पनि पोजेटिभ आएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिए।
सुत्केरीका श्रीमान् गत जेठ ११ गते भारतबाट घर आएको थियो। भारतबाट आएर १४ दिनसम्म क्वारेन्टिनमा बसेपछि उनको आरडीटी परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि उनलाई जेठ २७ गते घर पठाइएको थियो। क्वारेन्टिनबाट घर गएको ११ दिनपछि उनकी श्रीमतीमा कोरोना संक्रमण पोजेटिभ देखिएको गाउँपालिकाका स्वास्थ्य संयोजक नारायण अर्यालले बताए।
जिल्लामा मध्याह्नसम्म कोरोना सङ्क्रमितको सङ्ख्या एक सय ७४ पुगेको छ । ६ जना कोरोनामुक्त भएर घर फर्किएको र तीनजना भने कोरोना सङ्क्रमणका कारण मृत्यु भइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ। रासस

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *