Monday, July 6

माओवादी केन्द्रको रिटर्नी सेन्टरले चुनावबाट चुन्यो पदाधिकारी, अध्यक्ष बने सम्वाहाङ्फे

नेपालअखबार,काठमाडौं । माओवादी केन्द्रको भातृ संगठन रिटर्नी सेन्टर नेपालको प्रथम महाधिवेशनबाट देवेन्द्र सम्वाहाङ्फे अध्यक्ष चुनिएका छन् ।

Advertisement

अर्का प्रत्यासी मेजरकुमार राईलाई १८ मतले पछि पार्दै सम्वाहाङ्फे अध्यक्ष चुनिएका हुन् । पाँचथरका सम्वाहाङ्फेले ४७ र उदयपुरका राईले २९ भोट पाएका थिए ।

Advertisement
Advertisement

चितवनमा आयोजित प्रथम महाधिवेशन माओवादी केन्द्रका प्रवक्ता अग्नि प्रसाद सापकोटाले गत चैत ८ गते उद्घाटन गरेका थिए । महाधिवेशनबाट ९० सदस्यीय केन्द्रीय समिति निर्वाचित गरिएको थियो । तर पदाधिकारीमा सहमति नजुटेपछि वैशाख ८ गते (शनिबार) काठमाडौंको कोटेश्वर पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा मतदान भएको थियो ।

Advertisement

७८ जना उपस्थित निर्वाचनबाट अध्यक्षमा सम्वाहाङ्फेसहित १७ सदस्यीय पदाधिकारी चयन भएको छ ।

वरिष्ठ उपाध्यक्षमा डोरबहादुर कार्की तथा ४ जना उपाध्यक्षहरुमा भिम रोकाय (मुस्कान), कृष्णकुमार सिंह (अस्मित), चेतना श्रेंग र नविराज खान चुनिएका छन् ।

यसैगरी महासचिवमा घनश्याम भट्टराई तथा दुई जना उपमहासचिवमा विशाल भण्डारी र निमेषकुमार ओली चयन भएका छन् । एकमात्र कोषाध्यक्ष पदमा धनध्वज मल्ल ठकुरी चयन भएका छन् ।

यसैगरी सातै प्रदेशबाट एक–एक जना गरी ७ सचिवहरुमध्ये चार सचिव चुनिएका छन् । बाँकी ३ सचिवको भने टुंगो लागेको छैन ।

कोशी प्रदेश सचिवमा राम सन्जेल, मधेश प्रदेश सचिवमा बुद्ध स्याङ्गबो लामा, लुम्बिनी प्रदेश सचिवमा दिनेश भुषाल र कर्णाली प्रदेश सचिवमा जनक परियार चुनिएका छन् । बागमती, गण्डकी र सुदूरपश्चिम सचिवमा भने निर्णय हुन बाँकी छ ।

अध्यक्ष सम्वाहाङ्फले बागमती, गण्डकी र सुदूरपश्चिम सचिवबारे पछि प्रदेश कमिटीले निर्णय गर्ने बताए । ‘प्रदेश कमिटीले सिफारिस गर्ने र चुनाव गर्ने भन्ने हो तर बागमती, गण्डकी र सुदूरपश्चिममा सचिवका आकांक्षीहरु धेरै भएपछि प्रदेश कमिटीले सिफारिस नै गरेन,’ अध्यक्ष सम्वाहाङ्फेले भने, ‘अब प्रदेशले आवश्यक निर्णय गर्छ ।’

वैदेशिक रोजगारीबाट फर्किएकाहरुलाई संगठित गर्ने उद्देश्यले माओवादी केन्द्रले रिटर्नी सेन्टर नेपाल संगठन बनाएको हो । यसको पहिलो राष्ट्रिय भेला २०८० साल जेठ २६ गते काठमाडौंमा भएको थियो । आफूहरुले ६० भन्दा बढी जिल्लामा संगठन विस्तार गरेको र १० महिनाको बीचमा पहिलो महाधिवेशन गरिएको अध्यक्ष सम्वाहाङ्फेले बताए ।