Tuesday, May 5

आगलागी पीडितलाई तत्काल राहत दिन सरकारसँग कांग्रेसको माग

नेपालअखबार, काठमाडौं । नेपाली कांग्रेसले आगलागीबाट पीडित परिवारजनहरूलाई तत्काल राहत, क्षतिपूर्ति तथा बसोवासको यथोचित प्रबन्ध गर्न सरकारसँग माग गरेको छ ।

शुक्रबार कांग्रेस केन्द्रीय पार्टी कार्यालयका मुख्यसचिव कृष्ण प्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा पार्टी सभापति शेरबहादुर देउवाले आगलागी भएका क्षेत्रहरूमा तत्काल आगलागी नियन्त्रण गर्न प्रभावकारी उपायहरू अवलम्वन गर्न सरकारसँग आग्रह गरेका हुन् ।

Advertisement

यस्तै आगलागी प्रभावित जिल्लाका नेपाली कांग्रेस तथा भ्रातृ एवं शुभेच्छुक संस्थाका सबै तहमा एक आपसमा समन्वय गरी सम्पूर्ण सांगठनिक संरचनाका साथीहरूलाई परिचालन गरी उद्धार, राहत र उचित बसोबासको व्यवस्थापनको कार्यमा सहयोग पुर्‍याउन समेत देउवाले निर्देशन दिएका छन् ।

देशका महोत्तरी, खोटाङ, बाग्लुङ, पर्वत, गुल्मी, डोल्पा लगायतका जिल्लाहरुमा व्यक्तिका घर तथा वनमा आगलागीका कारण केही व्यक्तिको मृत्यु, सयौं व्यक्ति घाइते, सयौं चौपायाको मृत्यु, घर, खाद्यान्न, लत्ता कपडा लगायतका भौतिक सम्पत्ति पूर्ण रुपले जलेर नष्ट तथा क्षति भएको घटनाप्रति सभापति देउवाले दुःख व्यक्त गरेका छन् भने  घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।