Thursday, July 30

चेपाङ बस्तीमा ‘एक घर, एक धारा’

नेपालअखबार , चितवन। चितवनको इच्छाकामना गाउँपालिका–२ को छापडाँडामा ‘एक घर एक धारा’ अभियानअन्तर्गत सञ्चालित खानेपानी आयोजना सम्पन्न भएको छ।

Advertisement

बुधबार एक कार्यक्रमका बीच सम्पन्न खानेपानी आयोजनाको गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले उद्घाटन गरे। चेपाङ समुदायको बसोबास रहेको छापडाँडाका ५५ घरमा धारा जडान गरिएका छन्।

Advertisement
Advertisement

त्यस अवसरमा अध्यक्ष गुरुङले बाँकी रहेका चेपाङ बस्तीमा पनि  चाँडै धारा जडान हुने बताए।

Advertisement

उनले गाउँपालिकाले सबै वडामा यो अभियान सञ्चालन गरिरहेको भन्दै चेपाङ बस्तीलाई पहिलो प्राथमिकतामा राखिएको जानकारी दिए।

उनले छापडाँडा खानेपानी योजना सम्पन्न भएपछि पानी डोकोमा बोक्ने दिनको अन्त्य भएको बताए।

गाउँपालिका, स्थानीय उपभोक्ता र वाइन टु वाटर नेपाल नामक संस्थाको साझेदारीमा खानेपानी आयोजना सम्पन्न भएको हो।

९० करोड रूपैयाँ कूल लागतको आयोजना निर्धारित समयभन्दा अघिनै सम्पन्न भएको अध्यक्ष गुरुङले बताए।

साझेदारी संस्थाको ६५, गाउँपालिकाको २५ र स्थानीयवासीको १० प्रतिशत श्रमदानबाट आयोजना सम्पन्न भएको हो।

चेपाङ बस्तीमा सडक, शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम भइरहेको जनाउँदै अध्यक्ष गुरुङले परिवार सुधार कार्यक्रमअन्तर्गत बस्तीलाई गाउँपालिकाले चेपाङ समुदायको उत्थानका निम्ति सक्दो सहयोग गरिरहेको बताए।

यहाँ ५५ घरपरिवारसँगै समुदाय र विद्यालयमा पनि एक/एक वटा धारा जडान गरिएको छ।

सात किलोमिटर टाढा रहेको मुहानबाट ल्याइएको पानीको ट्याङ्कीबाट सोह्र घरपरिवारलाई लिफ्ट प्रविधिबाट पानी पुर्‍याइएको छ।

यहाँ रहेका २३ घर परिवारका लागि शौचालय पनि निर्माण गरिएको छ ।

गाउँपालिकाका अन्य ठाउँमा पनि खानेपानीको योजना निर्माणको चरणमा रहेको गाउँपालिका उपाध्यक्ष माया सिलवालले जानकारी दिए।

वडा नम्वर १ को चौकीडाँडा र वडा नम्बर ७ को दाहाखानी दुवै ठाउँमा लिफ्टिङ प्रविधिबाट खानेपानीको योजना कार्यान्वयनमा रहेको उनले बताए।

वाइन टु वाटरकी राष्ट्रिय निर्देशक रोशनी कार्कीले त्रिपक्षीय साझेदारीमा गरिएको काम समयमै सम्पन्न भएकामा प्रशन्नता प्रकट गर्दैले आधारभूत सुविधामा पहुँच नपुगेका समुदायको जीवनस्तर उठाउन आफ्नो संस्था क्रियाशील रहेको बताए।

वडाध्यक्ष पञ्चबहादुर प्रजाले गाउँमा श्रमदान गर्ने संस्कृति क्रमशः हराउँदै गएकामा चिन्ता व्यक्त गर्दै अन्य आयोजनामा पनि अनिवार्य श्रमदानको व्यवस्था गर्ने सोचमा आफू रहेको बताए। रासस