Thursday, July 30

संसद् अवरोध जारी राख्ने कांग्रेसको निर्णय

नेपालअखबार ,काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सदन अवरोधलाई जारी राख्ने भएको छ।

Advertisement

सहकारी प्रकरणमा सत्ता पक्ष संसदीय छानबिन समिति गठन गर्न तयार नभएको भन्दै कांग्रेसले सदनमा अवरोध जारी राख्ने भएको हो।

Advertisement
Advertisement

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समग्र सहकारीबारे छानबिन गर्ने प्रस्ताव राखेका थिए। त्यसमा कांग्रेसले अस्वीकार गरेको छ।

Advertisement

सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको भन्दै कांग्रेसले संसदीय छानबिन समिति गठनको अडान राखेको छ।

महामन्त्री विश्वप्रकाश शर्माले सत्तापक्ष सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठनमा तयार नदेखिएको बताए।

सचेतक सुशीला थिङका अनुसार संसदीय छानबिन समिति गठन गर्नेबारे अहिलेसम्म कुनै पनि सहमति भएको छैन। संसदीय छानबिन समिति गठन नभएसम्म सदन अवरोध हुने पनि उनले जानकारी दिइन्।

‘विषयवस्तु गृहमन्त्रीले बोल्नु र नबोल्नुमा सरोकार रहेन। संसदीय छानबिन समिति गठन हुनुपर्छ। यसअघि रामशरण महतदेखि जनार्दन शर्माको पालामा संसदीय छानबिन समिति गठन भएको थियो, अहिले किन नहुने? सरकारमा संलग्न दलहरुको कारणले अड्किएको हो,’ थिङले भनिन्।

कांग्रेस प्रवक्ता प्रकाशशरण महतले सरकार सहकारी ठगी प्रकरणमा छानबिन गर्न तयार भए पनि गृहमन्त्री रवि लामिछाने केन्द्रित भएर छानबिन गर्न तयार नभएकोले कुरा नमिलेको उनले बताए। गृहमन्त्री लामिाछानेकेन्द्रित छानबिन गर्नुपर्ने आफूहरुको मागमा सहमति नजुटेको कारण कुरा नमिलेको उनको भनाइ छ।

प्रधानमन्त्री दाहालले समस्याग्रस्त सहकारीबारे समिति गठन गर्न सकिने कांग्रेसलाई सन्देश पठाएका थिए। त्यसपछि महामन्त्री गगन थापा, प्रमुख सचेतक रमेश लेखकलगायत नेताहरू सिंहदरबारस्थित संसदीय दल कार्यालयमा छलफलमा जुटेका थिए।

प्रवक्ता महतले सत्ता र प्रतिपक्षबीच कुरा नमिलेकोले सदन अवरोध जारी रहने बताए।

‘कुरो मिलेको छैन, रविजी लगायत संलग्न रहेर सहकारीमा दुरुपयोग, ठगी भएको छ। संसदीय समिति बनाउन सत्तापक्ष तयार हुनुभएको छैन। उहाँहरुको सामान्यतया सहकारीहरुको कहाँ के समस्या छ त्यसको हेर्ने, त्यसको छानबिन गर्ने भन्ने किसिमले आएको हुनाले सहमति हुन सकेको छैन,’ उनले भने, ‘अन्य पनि छानबिन होस्। तर रविजीको विषयमा छानबिन हुनुपर्छ। त्यो विषयलाई ओझेलमा पारेर त्यसलाई सामान्यीकरण गर्दाखेरि त्यसको लक्ष्य हासिल हुन सक्दैन। त्यस हुनाले कुरा मिलेको छैन।’

प्रतिनिधि सभा बैठक अपराह्न ४ बजे र राष्ट्रिय सभा बैठक अपराह्न ४:३० बजेका लागि बोलाइएको छ। कांग्रेससँग सहमति गर्न भन्दै प्रधानमन्त्री दाहालले सभामुख देवराज घिमिरेलाई बैठक सार्न भनेका थिए।

प्रतिनिधि सभा बैठक बिहीबार बिहान ११ बजे र राष्ट्रिय सभा बैठक दिउँसो १:१५ बजेका लागि डाकिएको थियो। बैठक सारेर प्रधानमन्त्री र सभामुखले पहल गरे पनि संसदीय छानबिन समिति गठन नगरेसम्म अवरोध कायमै राख्ने कांग्रेसले बताएको छ।