Monday, July 27

पार्टी संरचनामा दुई तिहाइ नयाँ पुस्ता राखौँ : शर्मा

नेपालअखबार,  रुकुम पश्चिम । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा प्रभाकरले हरेक तहका पार्टी कमिटीमा दुई तिहाइको सङ्ख्यामा नयाँ पुस्तालाई समेट्न प्रस्ताव गरेका छन् ।

Advertisement

माओवादी केन्द्र बाफिकोट गाउँ समितिले शनिबार आयोजना गरेको पार्टीका नवनिर्वाचित वडा समिति पदाधिकारीहरूको बधाई कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले पार्टीमा नयाँ पुस्ताको बहुमत नभएसम्म गति नआउने बताए । ‘पार्टीका हरेक निकायमा युवाहरूको बाहुल्य भए मात्र पछिल्ला चुनौतीहरूको सामना गर्न सकिन्छ,’ केन्द्रीय संगठन विभाग प्रमुखसमेत रहेका शर्माले भने, ‘विशेष महाधिवेशनसम्म जाँदा यस विषयमा देशभर बहस चलाउनुपर्छ।’

Advertisement
Advertisement

पार्टीको विशेष महाधिवेशन आगामी वर्षको मङ्सिर पुससम्म गर्ने गरी शर्मा नेतृत्वको संगठन विभागले पार्टीमा सिफारिस गरिसकेको जानकारी गराउँदै उनले नयाँ विचारको आधारमा समाजवादको मूर्त कार्यक्रम अघि सारिने दाबी गरे । विशेष महाधिवेशनबाट सरकारको स्थिरता कायम हुने खालको नयाँ राजनैतिक प्रणालीको खाकासमेत तयार गर्न लागिएको शर्मा भनाइ छ ।

Advertisement

प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका नेता शर्माले आर्थिक समृद्धिका लागि पार्टीका हरेक सदस्यहरू कुनै न कुनै उत्पादनको कार्यमा अनिवार्य रूपले जोडिन निर्देशन दिए ।  पार्टीका हरेक नेता तथा कार्यकर्ताहरू आर्थिक रूपले आत्मनिर्भर नभएसम्म जनताको समृद्धिको अगुवाइ गर्न नसकिने उनले बताए ।