Tuesday, September 15

एकीकृत समाजवादीमा उमेरको हदबन्दी हटाइएपछि नेताहरु उत्साहित

नेपालअखबार,काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले १० औँ राष्ट्रिय महाधिवेशनमा उमेरको हदबन्दी हटाइएपछि नेताहरुमा महाधिवेशनको उत्साह देखिएको छ ।  महाधिवेशनमा कम्युनिष्ट पार्टी निर्माणमा योगदान गरेका पुराना र अनुभवी नेताहरुलाई नेतृत्वका लागि अवसर उपलब्ध गराउन उमेरको हदबन्दी हटाइएको पार्टीले जनाएको छ ।

Advertisement

अग्रज नेतालाई विभिन्न पदमा प्रतिस्पर्धाका लागि उम्मेदवार बन्न पाउने व्यवस्था गरेको हो । यसअघि पार्टीले ७० वर्षभन्दा माथि उमेर समूहका नेता तथा कार्यकर्तालाई कार्यकारी पदमा जान नपाइने व्यवस्था गरेको थियो । यसपटक सो नियमलाई परिमार्जन गरी उमेरको हदबन्दी हटाएको पार्टी केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले जानकारी दिए ।

Advertisement
Advertisement

पार्टी सञ्चालनका लागि वैचारिक नीति तथा कार्यक्रमका आधारमा प्रतिस्पर्धा हुने जनाइएको छ । पार्टीका तल्लो तहदेखि माथिल्लो तहका नेतालाई सम्बन्धित भूगोल तथा कार्यक्षेत्रबाट निर्वाचित हुनुपर्ने प्रावधान ल्याएको पार्टीले महाधिवेशनमा पेस गरिने चार वटा दस्तावेज थप समृद्ध बनाउन सबै जिल्ला तथा मातहतका कमिटीमा छलफलका लागि पठाइएको छ ।

Advertisement

असार मसान्तभित्र सबै मातहतका कमिटीले सुझाव केन्द्रमा पठाइसक्नुपर्ने समय सीमा तोकिएको छ । महाधिवेशनको कार्यप्रगति तथा तयारीबारे मातहतका कमिटीसँग पार्टीले जानकारी लिएको छ ।

महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक, पार्टीको समाजवादी कार्यक्रम, विधान संशोधन र साङ्गठानिक गरी चार दस्तावेजमा सबै जिल्ला तहबाट थप सुझाव लिन पार्टी मातहतका कमिटीमा दस्तावेजको मस्यौदा पठाइएको छ । दस्तावेजलाई एउटै प्रतिवेदन बनाएर राष्ट्रिय महाधिवेशनमा लैजाने तयारी भएको प्रचार विभाग उपप्रमुख अर्यालले जानकारी दिए ।

महाधिवेशनका लागि पार्टी केन्द्रले लोगोसमेत निर्माण गरेको छ । नेपालको फरफराइरहेको राष्ट्रिय झण्डालाई कलात्मक रूपमा प्रस्तुत गरिएको लोगोमा कम्युनिष्ट पार्टीको झण्डा राखिएको छ । ‘दक्षिणपन्थी यथास्थितिवादको विरोध गरौँ, समाजवादी बाटोमा अगाडि बढौँ’ भन्ने सन्देश लोगोमा उल्लेख छ ।

पार्टीको महाधिवेशन आगामी असार १६ देखि २० गतेसम्म काठमाडौँको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा गरिने कार्यक्रम छ । महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गर्न पार्टी अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा महाधिवेशन मूल व्यवस्थापन कमिटी तथा अन्य १४ वटा कमिटी निर्माण गरिएको छ । ती कमिटीले जिम्मेवारीअनुसार कार्य सम्पादन गरिरहेको पार्टी केन्द्रीय प्रचार विभाग उपप्रमुख अर्यालले बताए ।