
नेपालअखबार,काठमाडौं । पत्रकारका विभिन्न संघ संगठनले सदस्यता विवाद देखाएर पत्रकार महासंघले निर्वाचनलाई अन्योलतर्फ धकेलेको बताएका छन् ।
प्रेस चौतारी नेपाल, प्रेस सेन्टर नेपाल, समाजवादी प्रेस संगठन, जनपत्रकार संगठन, क्रान्तिकारी प्रेस संगठन र प्रगतिशील पत्रकार संघले संयुक्त विज्ञप्ति जारी गर्दै महासंघको निर्वाचन तोकिएको समयमा सम्पन्न गरी वैधानिकता जोगाउन ४ बुँदे मागसमेत पेस गरेका छन् ।
निर्वाचन समयमा हुन नसक्नुले पत्रकारहरूमा महासंघको मूल नेतृत्वको निर्णय क्षमतामाथि प्रश्न उठेसँगै महासंघलाई अमूक संगठनको छाया संस्थामा परिणत गर्न चाहेको प्रमाणित भएको यी ६ संगठनको ठहर छ ।
पत्रकार महासंघको गरिमा, गौरव र जिम्मेवारीलाई कायम राख्दै यसको कानूनी वैधानिकता कायम निर्वाचन सम्पन्न गर्न आवश्यक सहमतिको वातावरण बनाउन र त्यसका लागि सहयोग गर्ने प्रतिवद्धता विज्ञप्तिमा जनाइएको छ ।
‘यसको जिम्मेवारी महासंघको मूल नेतृत्वले लिनु पर्दछ । महासंघले आफ्नो आधिकारिक तथ्याङ्क र धारणा सार्वजनिक गर्न नसकेपछि महाधिवेशन नै हुने/नहुने अनिश्चितता हुँदै गएको बेला संगठनहरूकै पहलकदमीमा २७ औं महाधिवेशन सफलताका साथ सम्पन्न भएको र जेठ २६ गते निवार्चन गर्ने मिति तय भएको थियो । अन्तिम अवस्थासम्म पुग्दा पनि महासंघले सदस्यताको आधिकारिक तथ्याङ्क सार्वजनिक गर्न नसक्दा तोकिएको समयमा निर्वाचन हुन नसकेको यथार्थ छर्लङ्ग छ’, ती संगठनले भनेका छन् ।



